साप्ताहिक संवाददाता
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरूको समाजले आफ्ना यात्रुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा सुरु गर्न लागेको हो । समाजले मोबाइल एप्स इजीट्याक्सी नेपालमार्फत वैशाखको दोस्रो सातादेखि परीक्षणका रूपमा एप्समा आधारित ट्याक्सी सेवा प्रदान गर्न लागेको हो ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारद्वारा तोकिएको शुल्कमैसेवा दिने तयारी गरेको बताएको छ । समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन भएको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको पनि जनाएको छ ।
हाल काठमाडौं उपत्यकामा मात्र सञ्चालन गरिने इजीट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले उक्त एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसका लागि कस्टमर लगइन रजिस्टर बनाइएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानबाट जाने गन्तव्य छनौट गर्नुपर्छ ।
यात्रुले एप्समा गरेको अनुरोधका आधारमा नजिक भएका ट्याक्सीचालकहरूले सोही एप्समार्फत उक्त अनुरोध स्वीकार गर्छन् र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा पुगी सेवा उपलब्ध गराउँछन् । इजीट्याक्सी नेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको पाँच मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्न सक्नेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वाछानेका अनुसार— ‘हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेका हौं ।’ सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा पाँच मिनेटमै पुगेर सेवा दिने उनले स्पष्ट पारे । हालका लागि यात्रुले उक्त एप्समा लगइन गरेर यात्रा गर्दा नगदमै भुक्तानी गर्नुपर्नेछ भने छिट्टै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा यसमा समावेश गरिनेछ ।
इजीट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरू दर्ता हुनेछन् भने यात्रुले दिउँसो र राती दुबै सिफ्टमा सेवा प्राप्त गर्नेछन् । त्यसैगरी यो एप्समा आबद्ध चालक तथा यो एप्समार्फत सेवा लिने यात्रु दुबैको ५ लाख रुपैयाँको बिमासमेत गरिएको छ ।