साप्ताहिक संवाददाता
सानो संसारबाट चलचित्रमा आएका अभिनेता कर्मा शाक्यले हालसम्म अभिनय गरेका चलचित्रको संख्या केही दर्जन भैसकेको छ । यद्यपि उनले अभिनय गरेका सफल चलचित्रको सूचीमा ‘लूट’ मात्र छ । लुटबाट चर्चामा आएका यी अभिनेता त्यसताका चलचित्रको अभिनयमा असाध्यै व्यस्त पनि भए । यद्यपि, उनले अभिनय गरेका अधिकांश चलचित्र असफल हुँदै गए ।
कर्माको नाम जोडेर फ्लप चलचित्रका धनी हिरो भन्दै केही अनलाइनले गसिपसमेत बनाए । हुन पनि उनले अभिनय गरेका पञ्चेबाजा, लभ साशा, लुकामारी, शेर बहादुर, रोज आदि कुनै पनि चलचित्र चलेनन् । यही वर्ष प्रदर्शनमा आएको चलचित्र गरुड पुराणलाई पनि दर्शकले रुचाएनन् ।
कर्माले अभिनय गरेका अधिकांश चलचित्र फ्लप भए पनि निर्माता–निर्देशकहरूले उनलाई विश्वास गर्न भने छाडेका छैनन् । निकट भविष्यमै उनले अभिनय गरेका केही चलचित्र दर्शकमाझ आउने तयारीमा छन् ।