साप्ताहिक संवाददाता
अभिनेता तथा निर्माता दीपकराज गिरीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेत्रीहरूको जीवनमा रमाइलो परिवर्तन आएको पाइएको छ । दीपकसँग अभिनय गर्ने अविवाहित अभिनेत्रीहरूको फटाफट विवाह भैरहेको छ भने केही अभिनेत्री विवाहको तयारीमा छन् । वडा नम्बर ६ तथा छक्का पञ्जामा अभिनय गरेकी प्रियंका कार्की यही असारमा आयुष्मान देशराज जोशीसँग लगनगाँठो कस्दैछिन् ।
छक्का पञ्जामा दीपकराजकै श्रीमतीको भूमिका निर्वाह गर्ने वर्षा राउतको अभिनेता संजोग कोइरालासँग विवाह नै भैसकेको छ । छक्का पञ्जा–३ की अभिनेत्री दीपिका प्रसाईंले पनि निर्देशक दीवाकर भट्टराईसँग विवाह गरिसकेकी छिन् । अपवादका रूपमा नीता ढुंगाना मात्र छिन् । छ एकान छ कि यी अभिनेत्री हालसम्म सिंगल छिन् । नयाँ चलचित्र छ माया छपक्कैमा दीपकराजले केकी अधिकारीसँग अनस्क्रिन रोमान्स गर्दैछन् ।
अघिल्लो साता आयोजित चलचित्र घोषणा सभामा केकीलाई दीपकसँग जोडिएपछि विवाह हुने सम्भावना बढ्छ नि ? भन्ने जिज्ञासा नै राखियो । जवाफमा केकी लजाइन् मात्र । दीपाश्री निरौलाले भने मुखै खोलेर भनिदिइन्– ‘अहिले हाम्रो उद्देश्य नै दीपकसँग जोडी बाँधेर अविवाहित हिरोइनको विवाह गराउने भैरहेको छ । दीपकसँग जोडी बाँधिदिएपछि हिरोइनहरूको विवाह भैहाल्छ । अब केकीको पनि होला कि ?’