साप्ताहिक संवाददाता
‘लघु चलचित्र प्रतियोगिता–२०७५’ का उत्कृष्ट लघु चलचित्र तथा ‘सिपाही वार्षिक र द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कृत गरिएको छ । उनिहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कृत गरेका हुन् ।
प्रधानसेनापति थापाले जंगी अड्डामा मंगलबार आयोजित एक कार्यक्रममा ‘लघु चलचित्र प्रतियोगिता–२०७५’ मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पन’ लाई दुई लाख, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’लाई एक लाख ५० हजार र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’ लाई एक लाख नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरे ।
नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’ र पाचौं हुने शम्भु थापाको ‘साहस’ ले सान्त्वना पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँका दरले नगद तथा प्रमाण पत्र प्राप्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही २५ हजार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
यस्तै, प्रधानसेनापति थापाले ‘सिपाही वार्षिक–२०७५’ तथा ‘द शिवपुरी जर्नल–२०१९’ मा प्रकाशित लेख रचनाहरुमध्ये प्रथम हुने महा सेनानी रञ्जीत थापा, द्वितीय हुने प्रमुख सेनानी शिवराज पन्त र तृतीय हुने चिरञ्जीवी भण्डारीलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार र कदरपत्र प्रदान गरे ।