साप्ताहिक संवाददाता
रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’ को ग्राण्ड प्रिमियर गरिएको छ । दर्जनभन्दा बढि चर्चित सिनेकर्मीको उपस्थितिमा गरिएको ‘रोयल प्रिमियर’ मा चलचित्रका मुख्य कलाकार आकर्षक रुपमा बाजाको तालमा निलो कार्पेटमा उपस्थित हुँदा धेरैको नजरमा परे ।
प्रिमियरमा अभिनेता शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोज’ लगायतका कलाकार उपस्थित थिए । पिङ्क गाउनमा उपस्थित भएकी अभिनेत्री वर्षा सिवाकोटी सबैभन्दा धेरै क्यामरामा कैद हुन पुगिन् । पल शाह, नाजिर हुसेन र बुद्दि तामाङ आकर्षक सुटमा देखिए ।
रोयल प्रिमियरसँगै आयोजित सानो कार्यक्रममा प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो । बिबाह जस्तै आयोजित तामझामले प्रिमियरमा फरक किसिमको रौनक छाएको थियो ।
प्रिमियरपछि उपस्थित पाहुनाहरुले चलचित्रको प्रशंसा गरे । अधिकांसले चलचित्रले पुर्ण रुपमा मनोरन्जन दिन सकेकोमा प्रतिक्रिया दिए ।
भोली शुक्रबारदेखि सार्वजनिक हुन लागेको चलचित्रमा देशभक्त खनाल, मनोज केसी, बिनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार कृजन गौतम, मनिष लिम्बु लगायतका कलाकारको पनि अभिनय छ ।
प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।