साप्ताहिक संवाददाता
अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटी अहिले चर्चामा छन् । सुन्दर मुहारका धनी यी अभिनेत्रीहरूलाई चलचित्र क्षेत्रमा अघोषित रूपमा प्रतिस्पर्धि पनि भन्ने गरिएको छ । यद्यपि, उनीहरूबीच प्रतिस्पर्धा नै हुनुपर्ने ठोस कारण भने छैन ।
जेठ ३ गते उनीहरूले अभिनय गरेका दुई चलचित्र जात्रै जात्रा तथा वीर वित्रम–२ प्रदर्शन हुने भएपछि उनीहरूलाई प्रतिस्पर्धीका रूपमा चित्रण गरिएको हो । मिडियामा आफूहरूबीच अघोषित प्रतिस्पर्धा चलाइएपछि अभिनेत्री वर्षा सिवाकोटीले वर्षा राउतलाई सम्बोधन गर्दै फेसबुकमार्फत खुलापत्र नै लेखेकी छिन् ।
सिवाकोटी लेख्छिन्–‘डियर वर्षा राउत, खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक–अर्काको अस्तित्व स्वीकार गर्न सकेनौं अरे । हामी प्रतिस्पर्धी पक्कै हौंला, एउटै क्षेत्रमा काम गरिरहेका छौं । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एउटै ओछ्यानमा सुतेपछि खुट्टा लाग्नु त स्वाभाविक नै हो नि होइन र ? हिजो एउटै फ्रेममा अटाएका हामी आज एक अर्काको दुश्मन बनाइएका छौं । के साँच्चै तिमी मेरो र म तिम्रो दुश्मन हौं ? हामीबीचमा कहिल्लै केही कुरामा असमझदारी आएका छन् र ?
न तिमीले मेरो नाममा न मैले तिम्रो नाममा कहिल्यै कसैसामु संकुचित भावना राखेर कुरा काट्दै हिँडेका छौं ? तर पनि हामी एक अर्काका दुश्मन कसरी बन्यौं ? एकै परिवारका दुई सदस्य हामी आखिर यो बजारमा भनिएको जस्तो दुश्मनी बोकेर बसेका छौं ? तिमीले तिम्रो कर्म गरिरहेकी छौ मैले मेरो कर्म । कर्म फरक–फरक गरे पनि धर्म त हाम्रो उही ’कलाकारिता’ नै हो नि, होइन र ? भोगाई र मर्म तिम्रो र मेरो उस्तै त छ नि छैन र ? हामीले एकै ब्यानरबाट चलचित्र क्षेत्रमा पाइला टेक्यौं ।
हिजो म्युजिक भिडियो अभिनयमा छँदा पनि हाम्रो सुरुवात खासै फरक समयमा भएको जस्तो मलाई लाग्दैन । दिन फरक भए होला, समय पक्कै फरक थिएन । फेरि त्यही समयमा फर्कौं, जहाँ हामी एउटै फ्रेममा रमाएका थियौं । यो भन्दै गर्दा फेरि केही दिनमा फेरि सुन्न पाइनेछ ‘जेठ ३ मा दुई वर्षाको भिडन्त ।’ तर, म भन्छु जेठ ३ गते हाम्रो भिडन्त होइन मिलन हुनेछ हल–हलमा । हामी सँगै लाग्दैछौं । एउटै फ्रेममा नदेखिए पनि उही पर्दामा पालो–पालो देखिनेछौं । ‘जात्रै जात्रा’का लागि तिमीलाई शुभकामना ।