साप्ताहिक संवाददाता
अभिनेता धीरज मगर यो साता काठमाडौंमा झुल्किए । बेलायतमा बसोबास गर्ने धीरज आफूलाई रजतपटमा अभिनेताका रूपमा स्थापित गराउने निर्देशक रेनशा वान्तवा राई तथा निर्माता प्रज्वल राणाको वैवाहिक कार्यक्रममा सहभागिता जनाउन काठमाडौं आएका हुन् ।
धीरज आफ्नो करियरकै पहिलो चलचित्र इन्टु मिन्टु लण्डनमाबाट दर्शकको मन जित्न सफल भएका थिए । काठमाडौं आएको मौकामा सञ्चारकर्मीले उनका बारेमा बजारमा चलेका हल्लाका बारेमा जिज्ञासा राख्न भ्याए । धीरजले पनि स्पष्ट शब्दमा ती जिज्ञासाको जवाफ दिए ।
धीरजका अनुसार बजारमा हल्ला गरिएका दुई चलचित्र प्रेमगीत–३ तथा मेरो एउटा साथी छ–२ बाट उनलाई अभिनयको प्रस्ताव आएकै छैन । उनी अहिले आफूलाई अभिनेता बनाउने ब्यानरकै नयाँ चलचित्र आई एम ट्वान्टी वानमा मात्र काम गर्दैछन् । उनको तेस्रो चलचित्र पनि त्यही ब्यानरले निर्माण गर्ने गरी सम्झौता गरिएकाले उनी यो वर्ष पनि बाहिरी ब्यानरका चलचित्रमा अभिनय गर्न सक्दैनन् ।