साप्ताहिक संवाददाता
केहि समय अघि राजधानीको सोल्टी होटलबाट औपचारिक घोषणा गरिएको चलचित्र ‘छ माया छपक्कै’ छायांकनमा गएको छ । गत बिहिबारबाट फ्ल्रामा गएको चलचित्रको छायांकन सिन्धुलीबाट सुरु भएको चलचित्रका निर्माता रोहित अधिकारीले बताएका छन् । गाजलु निर्माता रोहितको यो दोस्रो चलचित्र हो । यो चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।
यो वर्षको दसैंका लागि प्रदर्शन मिति तय गरेर छायांकनमा गएको यो चलचित्र रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअपमा मिलेर बनाउन लागेका हुन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा छायांकन हुँदै गरेको यो चलचित्रमा अभिनेत्री केकी अधिकारी र दीपकराज गिरी जोडीका रुपमा देखिने छन् । साथमा केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित रहेर बन्दै गरेको चलचित्रमा हरि हुमागाईंले छायाङ्कन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रमा दीपक शर्माको संगीत छ ।
चलचित्रमा निर्देशक लामाको कथा तथा दीपकराज गिरीको पटकथा रहेको छ । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् । जितु नेपाल र केदार केदार घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।