साप्ताहिक संवाददाता
जेष्ठ १३, २०७६
आयुष्मान देशराज जोशी तथा प्रियंका कार्की निकट भविष्यमै वैवाहिक जीवनमा बाँधिदै छन् । सम्भवतः उनीहरूले आउँदो असारमा लगनगाँठो कस्नेछन् । अघिल्लो वर्ष नै इन्गेज्मेन्ट गरेको यो जोडी यतिबेला भने आफ्नै जोडीको प्रमुख भूमिका रहेको चलचित्र प्रेम दिवसको पर्खाइमा छ ।
जेठ ३१ गतेदेखि प्रदर्शनमा आउने उक्त चलचित्रमा प्रियंका कार्की केन्द्रीय भूमिकामा छन् । उनले चलचित्रका दुई अभिनेता (आयुष्मान तथा विशाल खरेल) सँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्रबाट आफू उत्साहित भएको प्रियंकाले बताइसकेकी छिन् । यो वर्ष २०७६ मा प्रदर्शन हुने प्रियंकाको पहिलो चलचित्र हो । यसअघि उनी अघिल्लो महिना प्रदर्शित भएको चलचित्र दाल भात तरकारीको एउटा आइटम गीतमार्फत दर्शकमाझ आएकी थिइन् ।