साप्ताहिक संवाददाता
चलचित्र डियर जिन्दगीको छायांकनमा व्यस्त भैरहेकै बेला घाँटीको शल्यक्रिया गर्नुपरेपछि अभिनेत्री श्वेता खड्काले ऊक्त चलचित्र छाडेको घोषणा गरेकी छिन् । शल्यत्रियापछि पनि स्वास्थ्यस्थितिमा सुधार नआएपछि उनले निर्वाह गरिरहेको भूमिकामा प्रियंका कार्कीलाई अनुबन्ध गरिएको छ ।
अभिनेत्री खड्काकै सल्लाहमा उनको भूमिका प्रियंकालाई दिइएको बताइन्छ । श्वेताको स्वास्थ्यमा सुधार आएपछि बाँकी छायांकन पूरा गर्ने भन्दै चलचित्रको युनिटले झन्डै तीन साताका लागि छायांकन रोकेको थियो, तर श्वेताको स्वास्थ्यमा आशा गरिएजस्तो सुधार नआएपछि उनैले आफ्नो भूमिका अर्की अभिनेत्रीलाई सुम्पन निर्देशन सूर्य बोहोरासमक्ष आग्रह गरेकी थिइन् ।
निर्देशक बोहोराका अनुसार श्वेताले पूर्ण स्वस्थ हुनका लागि चार महिनादेखि एक वर्ष लाग्ने बताएपछि उनको स्थानमा प्रियंकालाई लिइएको हो । घाँटीको ट्युमरको शल्यक्रियापछि अनुहारको एकापट्टि पक्षघात भएका कारण श्वेता अहिले थेरापी गराइरहेकी छिन् । बोल्दा र हाँस्दा अनुहार बांगो देखिने समस्याका कारण श्वेताले चलचित्र हेलो जिन्दगीबाट हात झिकेकी हुन् ।