साप्ताहिक संवाददाता
चलचित्र विकास बोर्डले बैशाख ४ मा प्रदर्शन हुन लागेको बलिउड चलचित्र ‘कलंक’ लाई रोकेको थियो । उक्त चलचित्र शुक्रबार मात्रै नेपालमा प्रदर्शन भयो । शुक्रवार बाहेक अन्य दिन अन्य भाषाका चलचित्र प्रदर्शनमा रोक लगाउने सोच अनुसार उक्त चलचित्र रोकिएको थियो ।
उक्त निर्णयपछि बिकाश वोर्डका अध्यक्ष केशव भट्टराईले आगामी दिनमा के कस्तो काम गर्छन् ? सक्छन् या सक्दैनन् ? जस्ता प्रश्नहरु खडा भए । अध्यक्ष केशव भट्टराईले भारतमा बुधबारदेखि नै रिलिज हुन लागेको चलचित्र ‘भारत’ लाई पनि शुक्रबार मात्र नेपालमा प्रदर्शन हुन दिने अडान राखेका थिए । तर, उनको अडानलाई अदालतले असहयोग गरिदिएको छ ।
भारतलाई नेपालमा वितरण गर्न लागेको ब्यांकटस इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्डको निर्णय विरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको थियो । सोमबार दायर गरिएको मुद्दामा सोमबार नै फैसला सुनाउँदै जिल्ला अदालतले स्वतन्त्र व्यवसायमामा हस्तक्षेप नगर्न आदेश दिएको छ ।
ब्याकंटस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले आफुहरुको स्वतन्त्र ब्यवसायमा रोक लगाउन खोजेपछि उजुरी दिएको बताए । अदालतले राठी पक्षमा फैसला गरेपछि अब यो चलचित्र बुधवारनै प्रदर्शन हुने भएको छ ।
पहिलो प्रयासमै असफल
अदालतको यो आदेशपछि अब विकास वोर्डले सुरु गरेको योजना फेल खाने निश्चित छ । खासगरी अध्यक्ष भएर वोर्डमा पुगेका केशव भट्टराइले विदेशी चलचित्रलाई घुमाउरो तरिकाले पाखा लगाउने र नेपाली चलचित्र प्रदर्शनमा हावी गराउने सोच राखेका थिए । यद्यपी वोर्ड अध्यक्ष पहिलो प्रयासमै असफल भएको संकेत देखिएको छ ।
अदालतको आदेश मान्छु तर निर्णय विरुद्ध कदम चल्छ : भट्टराई
वोर्ड अध्यक्ष केशव भट्टराईले अदालतको आदेश मान्ने बताए । यद्यपी उनले अदालतले जुन आदेश दिएको छ त्यो पुर्ण रुपमा गलत निर्णय गरेको बताए । उनले भने, ‘अहिलेको आदेशलाई स्विकार गरिएपनि यो किसिमको निर्णय सधै लागु हुनेवाला छैन, हामी अर्को कुनै कदम चाल्नेवाला छौं ।’ नेपाली चलचित्र र नेपाली कलाकारहरुको हक हितका लागी लड्दै गर्दा उल्टै अदालतको आदेशले नेपाली कलाकारहरुप्रतिको अपमान भएको उनले बताए ।