साप्ताहिक संवाददाता
देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ को काठमाण्डौंमा आयोजीत एक कार्यक्रमका बिच औपचारिक घोषणा गरिएको छ । निर्माण टिमले चलचित्रको छायांकन पनि घोषणाकै दिनदेखि सुरु गरेको छ ।
यो चलचित्र नवलपरासीमा छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।
लामो समयपछि अभिनयमा फर्किए भुवन
अभिनेता भुवन केसी लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त भएका भुवन क्याप्टेनको असफलतापछि अभिनयमा फर्किएका हुन् ।
यो चलचित्रमा अभिनेता भूवन केसी र रीमा विश्वकर्माको जोडीलाई दर्शकले हेर्न पाउनेछन् । अभिनेता भुवन दोहोरो चरित्रमा देखिने निर्माण पक्षको भनाई छ । उनले खलनायक र अभिनेताको भूमिकामा देखिने भएका हुन् ।
भुवन केसीसँग काम गर्न पाउँदा रिमा मख्ख !
अभिनेत्री रीमा विश्वकर्माले अभिनेता भूवन केसीसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । नेपाली चलचित्र ईतिहासका एक बलिया खम्वाको रुपमा भुवनको नाम आउने भएकाले उहाँसँग का मगर्न पाउनु ठुलो कुरा हो, उनले भनिन् । चलचित्रमा भुवन केसी र रीमा विश्वकर्माका अलवा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । यही चलचित्रबाट नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले डेव्यु गर्दैछन् ।
निर्देशक भुषालले यो चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्ने बताए । हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहने चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।