साप्ताहिक संवाददाता
भोजपुरी कथानक चलचित्र ‘देशप्रेमी’ को प्रिमियर वीरगन्जमा सम्पन्न भएको छ । एम्याक्स हलमा आयोजित उक्त प्रिमियर शोमा अतिथिहरू वीरगन्ज महानगरका मेयर विजय सरावगी, सभासद ओमप्रकाश शर्मा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया, उद्योगी अशोक वैद्य आदिले केक काटेका थिए । उनीहरूले चलचित्रको सफलताको कामना समेत गरेका थिए ।
शोमा चलचित्रका अभिनेता प्रदेशी साह, अभिनेत्री हिमानी गिरी आदि सहभागी थिए । अभिनेता साहले प्रिमियर शोबाट प्राप्त प्रतिक्रियाहरू समेटेर चलचित्रमा थप सुधार गरिने बताए । उनले दर्शकले आफ्ना अन्य चलचित्रजस्तै यो चलचित्रलाई पनि माया गर्नेमा आफू आशावादी रहेको बताए । नायिका गिरीले यो आफ्नो पहिलो चलचित्र भएको र सहकर्मीहरूबाट धेरै कुरा सिक्ने अवसर पनि पाएको बताइन् ।
निर्माता रवीन्द्र वर्णवालले यो चलचित्रबाट मधेसको कला–संस्कृति देखाउने प्रयास गरिएको बताए । नेपाल मात्र नभै भारत, खाडी मुलुकहरू तथा मरिससमा समेत यो चलचित्र प्रदर्शन गर्ने योजना आफूले बनाएको उनले जानकारी दिए ।
यो चलचित्रको छायांकन वीरगन्ज, सौराहा, पोखरा तथा भारतको मुम्बइमा गरिएको हो । ठूलो बजेटको यो चलचित्रमा भारतमा झन्डै १ सय ५० भोजपुरी चलचित्र निर्माण गरिसकेको भारतकै अग्रणी फिल्म प्रोडक्सन ब्यानर आदिशक्ति इन्टरटेनमेन्टको समेत लगानी छ । चलचित्र देशप्रेमी तयार पार्न १ करोड ३५ लाख रुपैयाँ लागेको बताइएको छ ।
यो चलचित्रमा अभिनेता साह फेरी पनि प्रहरीको भूमिकामा दोहोरिएका छन् । देशप्रेमीमा भोजपुरी सिने जगत्की स्थापित अभिनेत्री पूनम दुबेको समेत अभिनय छ । उनले यसअघि करिब ३० वटा सुपरहिट भोजपुरी चलचित्रमा अभिनय गरिसकेकी छिन । नेपाली चलचित्रका स्थापित कलाकार पुकार भट्टराई तथा भोजपुरी चलचित्रका अर्का स्थापित कलाकार वैद्यनाथ महतो पनि यो चलचित्रमा छन् । भट्टराई खलनायक र महतो कमेडियन हुन् ।
यही चलचित्रबाट निर्देशक जे के मास्टर (जनक खकुरेल) तथा हिमानी गिरीले भोजपुरी सिने जगतमा डेव्यु गरेका छन् भने यो चलचित्रमा आधा दर्जन गीत समावेश छन् ।
शंकर आचार्य