साप्ताहिक संवाददाता
२०७६ को बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ का मुख्य अभिनेता सार्वजनिक भएका छन् । मुख्य अभिनेत्रीको अडिसन चलिरहेका बेला निर्माण टिमले केहि फरक–फरक लुक्स सहित चलचित्रको मुख्य पात्र रिलिज गरेको हो ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको मुख्य भुमिकाका लागि नव अभिनेता मनिष राउतलाई इन गराइएको हो । मनिष राउतले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय सम्बन्धि अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभव छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक र बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ ।
चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् । ‘प्रेम गीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ ।
निर्माण टिमले अझैंसम्म पनि प्रेम गीत ३ का मुख्य अभिनेता राउत हुन् या प्रदीप भन्ने विषय खुलाएको छैन । निर्देशक तथा निर्माता सन्तोष सेनले राउत मुख्य भुमिकाका लागि भित्राइएको बताए ।