साप्ताहिक संवाददाता
अमेरिकाले प्रतिबन्ध लगाएपछि चर्चामा आएको चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले हाल निर्माणाधीन आफ्नो कार्यालय परिसरको झलक सबैलाई देखाएको छ । उक्त विशाल परिसरको अधिकांश भाग युरोपेली सहरका प्रसिद्ध स्थलजस्तै गरी डिजाइन गरिएको छ । सबै परिसरलाई अलग–अलग टाउन्समा परिवर्तन गरिएको छ, जहाँ कर्मचारीहरू काम गर्छन् ।
उक्त परिसर लगभग ९ वर्ग किलोमिटरमा फैलिएको छ, जहाँ लगभग २५ हजार कर्मचारीले काम गर्नेछन् । दक्षिण चीनको डोगुआनस्थित उक्त परिसरका घरहरू युरोपका विभिन्न हिस्साको वास्तुकलामा आधारित छन् । उक्त इलाका सेन्जेन प्रान्तको उत्तरमा छ जहाँ हुवावेको वर्तमान मुख्यालयसमेत छ ।
उक्त परिसरमा स्पेनको दक्षिण भेगको प्रसिद्ध सहर ग्रेनेडा पनि छ । अन्य टाउन्समा फ्रान्सको पेरिस, इटालीको भेरोना तथा बेल्जियमको ब्रग्स छन् । कुल १२ टाउन्स मध्ये ८ वटा टाउनको निर्माण भैसकेको छ । अहिले उक्त परिसरमा १७ हजार कर्मचारी काम गरिरहेका छन् । कम्पनीको सेन्जेन मुख्यालयमा ५० हजारभन्दा बढी कर्मचारी छन् ।
झट्ट हेर्दा कुनै पार्क जस्तो देखिए पनि यो वास्तवमा विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी हुवावेको रिसर्च सेन्टर हो । युरोपीय शैलीको यो परिसरको परिकल्पना हुवावेका खर्बपति संस्थापक रेन झेंघफेईले गरेका थिए । परिसर तयार गर्न १ दशमलव २ बिलियन पाउन्ड खर्च हुनेछ । आगामी दिनमा यहाँ बन्ने ३० हजार फ्ल्याटमा बस्न आवेदन दिन सकिनेछ जहाँ युरोपमा पाइने हरेक सुविधा उपलब्ध हुनेछन् ।
प्रत्येक टाउनमा लगभग २ हजार मानिस बस्न सक्नेछन् । परिसरको निर्माण पूरा भैसकेपछि त्यहाँ लगभग २४ देखि २५ हजार मानिस बस्न सक्छन् । परिसरमा एक ठाउँबाट अर्को ठाउँमा जान स्वीजरल्यान्डमा जस्तै ट्राम प्रयोग गरिनेछ । त्यहाँ भएका सबै १२ टाउन्सलाई ट्रामसँग जोडिनेछ । रातो रङको उक्त ट्राम स्वीजरल्यान्डबाट आयात गरिएको हो ।