साप्ताहिक संवाददाता
असार २, २०७६
गुगलका अनुसार अभिनेता भुवन केसीको उमेर ६१ वर्ष भैसकेको छ । यो उमेरमा उनी दुलाहाको भेषभूषामा सजिए भने कस्तो देखिएला ? यो जिज्ञासाको जवाफ आइसकेको छ । अघिल्लो साता छायांकन प्रारम्भ गरिएको चलचित्र ‘मिस्टर नेपाली’ को पहिलो तस्बिर सार्वजनिक भएको छ, जसमा अभिनेता केसी दुलाहाको पहिरनमा छन् ।
दुलाहाको पहिरनमा उनी भरखरको ठिटो देखिएका छन् । आफूभन्दा आधाभन्दा कम उमेरकी अभिनेत्री रिमा विश्वकर्मा अभिनेता केसीसँगै दुलहीको भेषमा छिन् । उनीहरूको जोडी बिछट्टै सुहाएको पनि छ ।
यो चलचित्रमा अभिनेता केसी बुवा र छोराको दोहोरो भूमिकामा छन् । विवाहको उक्त दृश्य चाहिँ बुवा भुवन केसीको भएको बताइन्छ । वास्तविक जीवनमा छोरा अनमोल केसीको विवाह गर्ने उमेर भैसकेका बेला बुवा केसीलाई दुलाहाको पहिरन सुहाएको देख्दा धेरैले रमाइलो मानेका छन् ।