साप्ताहिक संवाददाता
आज शुक्रबारदेखि चलचित्र आप्पा प्रदर्शनमा आएको छ । यो चलचित्र नेपालसँगै भारतका २५ वटा हलमा एक साथ प्रदर्शन गरिने निर्देशक अनमोल गुरुङले बताएका छन् । चलचित्र आप्पाको अधिकांश छायांकन दार्जिलिङ तथा सिक्किममा गरिएको हो जसमा एउटा ड्राइभरले भोग्ने समस्यालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ ।
आप्पामा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा हेर्न पाइन्छ, जसमा अभिनेता दयाहाङ राईले ड्राइभरको भूमिका निर्वाह गरेका छन् भने चलचित्रको कथा पनि उनकै वरिपरि घुमेको छ । बाबु र छोराको सम्बन्धको कथा बोल्ने यो चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ हुन् भने रुदेन सादा लेप्चा यसका लगानीकर्ता हुन् ।
माउन्टेन स्टोरिज प्रोडक्सन तथा सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण गरिएको आप्पामा दयाहाङ राईका अतिरिक्त सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की आदि कलाकारले समेत अभिनय गरेका छन् । आप्पा निर्देशक अनमोल गुरुङको कथामा निर्माण गरिएको हो ।
यसको पटकथा तथा संवाद गुरुङ र उमेश उपमाले संयुक्त रूपमा लेखेका हुन् । यो चलचित्रमा शैलेन्द्र डि कार्कीको छायांकन, शैकात देवको संगीत तथा निमेष श्रेष्ठको सम्पादन हेर्न तथा सुन्न पाइन्छ ।