साप्ताहिक संवाददाता
आज शुक्रबार चलचित्र कीर्तिपुरको प्रदर्शन प्रारम्भ भएको छ । पाँच वर्षअघि नै निर्माण गरिएको यो चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् । सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शनमा आउन लागेको निर्देशक खड्गीले बताए ।
यो चलचित्र नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणको अभियानका क्रममा (१८ औं शताब्दीमा) कीर्तिपुरमा गरेको आक्रमणमा आधारित छ । निर्माण पक्षले केही समय अघि चलचित्रको ट्रेलर तथा गीत सार्वजनिक गरेको थियो जसमा कीर्तिपुर आक्रमणका दृश्य समावेश गरिएको छ ।
यो चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको निर्देशक खड्गीले जनाएका छन् । साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ शीर्षकको उपन्यासमा आधारित चलचित्र कीर्तिपुरमा यशराज गराच, हिसिला महर्जन, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित, विनेश श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । यसका निर्माता अनन्तकुमार श्रेष्ठ हुन् ।
यो चलचित्रमा अभिनेता गराचले पृथ्वीनारायण शाह तथा अभिनेत्री हिसिलाले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गरेका छन् । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्र कीर्तिपुरको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोरखाका विभिन्न स्थानमा गरिएको हो ।