साप्ताहिक संवाददाता
केकी अधिकारी, वर्षा राउत, वर्षा शिवाकोटी, सारा शिर्पाइली आदि अभिनेत्रीहरूसँग झन्डै एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरूमा अनस्क्रिन रोमान्स गरिसकेका मोडल रवि सिंह चलचित्रमा पदार्पण गर्ने तयारी गर्दैछन् । हिमाल सागरको ‘नआउ तिमी..’ गीतबाट सर्वोत्कृष्ट मोडलका रूपमा चारवटा एवार्ड समेत जितेका सिंह अभिनयका साथै युवा मोबाइल व्यवसायीका रूपमा समेत सक्रिय छन् । साप्ताहिकका लागि उनले मोबाइल सम्बन्धि केही टिप्स यसरी दिएका छन् :
धेरैभन्दा धेरै सुविधा भएका मोबाइल बोक्नु उपयुक्त हुन्छ ।
युवापुस्ताले १० हजारदेखि ३० हजार रुपैयाँसम्मका ब्रान्डेड मोबाइल बोक्नु उपयुक्त मानिन्छ ।
सस्तो पाइयो भन्दैमा लोकल मोबाइल बोक्नु राम्रो होइन, सस्तो मोबाइलले स्वास्थ र पैसा दुवैलाई हानी पुर्याउँछ ।
युवतीहरूले रातो वा पिंक तथा युवकहरूले कालो वा नीलो रंगको मोबाइल बोकेको सुहाउँछ ।
मोबाइल छनोट गर्दा प्रोसेसर हाइ भएको, बढी र्याम भएको, ब्याट्रिको लाइफ बढी भएको तथा स्टोरेज पनि बढी भएको मोबाइल लिनुपर्छ ।
मोबाइललाई पानीबाट जोगाउनै पर्छ । फुट्नबाट जोगाउन सकियो भने त सुनमा सुगन्ध नै भैहाल्यो ।
अहिले मोबाइलको पनि बिमा गर्ने प्रचलन छ । बिमा गर्न सकियो भने ड्यामेज हुँदा पनि राहत पाइन्छ ।
मोबाइलमा टेम्पर ग्लासको प्रयोग अनिवार्य नै छ । सकेसम्म हार्ड कभर गरेको राम्रो ।
मोबाइललाई कम्तीमा एकदेखि दुई घण्टा चार्ज गर्दा पुग्छ, रातभरी चार्ज गरेर मोबाइलको ब्याट्रीको आयु घटाउनु हुँदैन ।
बेला–बेलामा मोबाइल सफा गरिरहनुपर्छ । त्यसका लागि सहरमा खुलेका सुविधासम्म सर्भिस सेन्टरहरूको सेवा लिन सकिन्छ ।