बाँझोपनको समस्या र मनोविज्ञानमा आधारित नेपालमा धेरै चलचित्र बनेका छन् । सन्तान नहुँदा के हुन्छ ? सन्तान नभएका धेरै दम्पत्तीले पाएका छन् यसको उत्तर ।
नेपाली समाजमा सन्तान हुनुैपर्ने मान्यता छ । अर्को कुरा छोरी भन्दा छोरा हुनुपर्ने झन् अर्को मान्यता । छोरीलाई भन्दा छोरालाई धेरै माया गर्ने संस्कार पनि छ । यस्तै परिवार र समाजको ब्यापक दवाबविच श्रीमान–श्रीमती बीचमा गुज्रिएको मानसिकता, मनोवैज्ञानिक असर र किचलो नै चलचित्र दयारानीको बिषय हो ।
चित्रजंग (दयाहाङ) ले हार्न जानेका छैनन् । गाउँमा हुने छेलो प्रतियोगिता होस या मित सँगको जिद्धीपन सवैमा उसकै हालिमुहाली ।
आफुले मन पराएको केटी दयारानी (दिया पुन) सँगै विवाह पनि हुन्छ । तर, विवाह गरेको ५ बर्ष हुदासम्म बच्चा नभएपछि परिवार र समाजको टोकसो खप्न बाध्य हुन्छिन् दयारानी । यी विविध कुरा थाहा पाएर पनि आफ्नो जंगि स्वभावमा अलिकति कमि हुन दिदैनन् चित्रजंग ।
चित्रजंगका मिता (बिजय बराल) ४ जना छोराछोरी भईसक्दा पनि अर्को बनाउँने तयारीमा छन् । गाउँमा बोकालाई खसी बनाउँदै हिड्ने पेशा गर्ने उनी घरिघरी चित्रजंगको पुरुत्वप्रति ब्यङ्ग गरिरहन्छन् ।
दयारानीको दबाबपछि कसको कारणले बच्चा नभएको भनि अस्पताल जान्छन् चित्रजंग । डाक्टरले उनलाई विर्यमा पर्याप्त शुक्रकिट नभएकाले जीवनमा कहिल्यै बच्चा नहुने भने पनि आफ्नो साख गिर्ने डरले चित्रजंगले यो कुरा श्रीमती (दयारानी) लाई सुनाउँदैनन् । बरु उल्टै दयारानीकै कमजोरीको कारण बच्चा नभएको भनि दिन्छन् ।
चित्रजंगका बाबुले र ससुराबाले वंश जोगाउँने विषयमा गरेको बहसले दयारानीपनि आजित बन्छिन् । फलत घरमा सौता भित्राउँने तयारी गरिरहेको बेला चित्रजंगको पेट भएको भन्दै एक महिलाको प्रवेश हुन्छ ।
के चित्रजंगले ति महिलालाई स्विकार्लान ? दयारानीले आफ्नो श्रीमानको वंश जोगाउँनका लागि सौतालाई घरमा प्रवेश दिन्छिन त ? चित्रजंगले के कसरी भन्लान् आफ्नो कमजोरी ? यि यावत प्रश्नहरुको सेरोफेरोमा घुमेको छ चलचित्रको कथा ।
दर्जन बढि गुरुङ चलचित्रहरुको लेखन तथा निर्देशन गरेर आफुलाई खारेका माओत्से गुरुङद्धारा लेखन र निर्देशन गरिएको फिल्म हो दयारानी । भाषागत चलचित्रमा ब्यस्त रहेको बेला लेखन र अभिनय मार्फत चलचित्र पुरानो डुङ्गाबाट मुलधारको सिनेमामा प्रवेश गरेका थिए माओत्से । मुलधारको पहिलो चलचित्रबाटै चरित्र अभिनयको गहिरो छाप छाडेका माओत्सेको मौलिक अभिनयको प्रशस्त प्रशंसा हुने गर्छ । उनै माओत्से पहिलोपटक लेखनसँगै निर्देशनमा होमिएका हुन् ।
चलचित्रमा बाबुको भुमिका निर्वाह गरेका पुष्कर गुरुङ र डिबी गुरुङ्को अभिनय र कमेडी टाईमिङ गजबको छ । दयाका मित बिजय बराल चलचित्रको थिम हुन्, उनको प्रवेशले दर्शकहरुलाई उत्साहित बनाउँछ । महिलाप्रेमी विजयको डार्क कमेडीले घरीघरी हल हाँसोले गुन्जिन्छ । फिल्मको कथाको पात्र अनुसार दयाहाङ् फिट देखिएका छन् । नवअभिनेत्री कृष्टि गुरुङको सानो भुमिका भएपनि प्रभावकारी छ ।
चलचित्रमा दयारानीको भुमिकामा दियालाई पर्फेक्ट देखिएको छ । गाउँले सोझी, श्रीमान, परिवारको हेरविचारमा बहुत ध्यान दिने महिलाको भुमिकामा दयारानीले न्याय गरेकी छिन् ।
दयाहाङ्को चलचित्र हेरिरहनु भएका दर्शकहरुलाई उनको जंगी स्वभाव, ठाडो बोल्ने शैली जस्ता चरित्र यो फिल्ममा पनि पाउँनु हुन्छ । दयाको अभिनयमा खास नौलोपन पाउँन सकिन्न, बरु दियाको आँशुले सवैलाई भावुक बनाउँछ ।
माओत्सेले पहिलो चलचित्र भएकाले जति मेहनत गरेका छन् त्यति पर्दामा देखिदैन । शुरुका केहि मिनेट चलचित्र मज्जाले बगेपनि बिचमा कथा सुस्त भएको महशुस हुन्छ । फिल्मको क्लाईमेक्स सिक्वेलको लागि छाडिएको भान हुन्छ । फिल्मको अन्त्यमा महिलाको मनोविज्ञान र पिडालाई निर्देशकले नजरअन्दाज पक्कै गरेकै हुन् । फिल्म जम्मा ९० मिनेटको मात्र भएकाले छोटो लाग्न सक्छ ।
पोखराको रमणिय दृश्यले मन शान्त बनाउँछ । लामो ड्रोन सटबाट लिईएको लोभलाग्दो दृश्यले पर्यटकीय सम्भावनालाई मज्जैले झल्काउँछ । फिल्ममा समावेश लोक फेलेवरको गीतले पनि दर्शकहरुलाई राहत दिन्छ ।
हङकङका समाजसेवी तथा ब्यापारी मोहन गुरुङ (टिला) किरण गुरुङ, केन्द्र लिम्बु, खुसीमान गुरुङ, सुरेन्द्र गुरुङ, सुर्यप्रकाश गुरुङ लगायतको टिमको लगानी रहेको दयारानीमा मौलिक संस्कृत र आफ्नो माटोको सुगन्ध मिसाईएको छ । फिल्ममा बोलिने सम्वाद र झर्रा ठेट शब्दहरुले आफ्नोपनको महशुस गराउँदछ ।
डान्स नम्वर र द्धन्द्धका दृश्य मन पराउँनेहरुका लागि उपयुक्त खुराक नहुन सक्छ दयारानी । मुलधारका चलचित्रमा अभिनय मार्फत दर्शकको प्रिय बनेका माओत्सेले बलियो सम्भावना देखाएपनि आफुलाई तिर्खानु पर्ने प्रशस्त ठाउँहरु छाडेका छन् ।