साप्ताहिक संवाददाता
गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल–२ को निर्णायकमा आफू सहभागी नभएको जानकारी पाएपछि गायिका अभया सुब्बाले खुलेरै त्यसको गुनासो गरिन् । रियालिटी शोको पहिलो सिजनमा कोचका रूपमा सहभागी सुब्बाले दोस्रो सिजनमा आफू नभएको जानकारी पाएपछि यूट्युब मार्फत गुनासो व्यक्त गरेकी हुन् । दोस्रो सिजनमा निर्माताहरूले अभायासँगै गायक सनुप पौडेललाई पनि समावेश गरेका छैनन् ।
यो विषयमा सनुपले हालसम्म कुनै गुनासो नगरे पनि अभायाले भने कार्यक्रमको व्यवस्थापन पक्ष अत्यन्त फितलो आरोप लगाएकी छिन् । अभायाले असन्तुष्टि जनाएपछि कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले कोचमा उनलाई सहभागी नगराउने हेड क्वाटरकै निर्णय भएकाले आफूले उक्त विषयमा धेरै बोल्न नमिल्ने बताइसकेका छन् । अभायाको गुनासो छ– ‘भ्वाइस अफ नेपालसँग मेरो कुनै दुस्मनी छैन, भ्वाइसमा छैन भन्दैमा म मरेकी त छैन नि ।
यद्यपि पहिले नै उहाँहरूले अब तपाईंहरू यो सिजनमा हुनुहुन्न भनिदिएको भए हुन्थ्यो । उहाँहरूले पत्रकार सम्मेलनमार्फत नयाँ कोचहरूको जानकारी गराउने क्रममा आफू नरहेको कुरा थाहा पाएपछि मात्र मैले अपमानित महसुस गरेकी हुँ ।’