साप्ताहिक संवाददाता
आठ वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक सुविन्द्र केसी अहिले पनि संगीत सिकिरहेका छन् । यतिबेला राम सिटौलासँग संगीतको प्रशिक्षण लिइरहेका गायक केसी बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिए । संगीत बुझ्न थालेदेखि नै उनी गायक रामकृष्ण ढकालको प्रसंशक भए ।
संगीत सिक्ने क्रममा उनले ढकालकै गीत गाए । २०६९ सालमै पहिलो गीत ‘मख्खै बनाउने..’ रेकर्ड गराएका यी गायकले संगीतमा धेरै कुरा सिक्न बाँकी रहेको अनुभव गर्दै लामो समय संगीतको साधनामै बिताए । अहिले आएर उनले आफ्नो जीवनकै पहिलो गीति एल्बम तयार पारेका छन् ‘आरोहण’ शीर्षकमा । उनको गायकी गायक ढकालसँग मिल्दोजुल्दो छ ।
ढकालकै फ्यान भएकाले उनले आफ्नो पहिलो एल्बमको शीर्षक पनि ‘आ’ अक्षरबाटै जुराएका छन् । रामकृष्ण ढकालका अधिकांश एल्बमको शीर्षक ‘आ’ बाट जुराइएको छ । गायक ढकाललाई आदर्श मान्ने गायक केसीले यही साता आफ्नो पहिलो एल्बम लोकार्पण गराउँदैछन्, त्यो पनि गायक ढकालकै हातबाट । केसीको तयारी देख्दा लाग्छ, फ्यान हुनु त सुवीन्द्र केसी जस्ता ।