साप्ताहिक संवाददाता
पहिलो चलचित्र रानीमहल छायांकनकै त्रममा रोकिएपछि पूर्व मिस नेपाल निकिता चाण्डकको अभिनेत्रीका रूपमा पदार्पण गर्ने सपना केही महिनाका लागि स्थगित भयो । आफूले अभिनय गरेको पहिलो चलचित्र नै रोकिएपछि उनी निराश समेत भइन् । त्यसबीच उनको भेट अभिनेता तथा निर्माता विराज भट्टसँग भयो । विराज चलचित्र साङ्लोका लागि आफ्नो जोडीको खोजीमा थिए ।
निकितासँगको केही भेटपछि विराजले उनलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरे । करिब दुई महिनाको अवधिमा उक्त चलचित्रको छायांकन समेत सम्पन्न भैसकेको छ । चलचित्रको छायांकन सम्पन्न भए लगत्तै निकिताले आफू उक्त चलचित्रको भूमिकाबाट उत्साहित भएको प्रतिक्रिया दिएकी छिन् ।
चलचित्रमा उनले विराज भट्टको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । विराज भट्टकै निर्देशनमा निर्माण भैरहेको भदौमा प्रदर्शन हुने यो चलचित्रमा विराज र निकिताले प्रेमी–प्रेमिका हुँदै श्रीमान्–श्रीमतीसम्मको भूमिका निर्वाह गरेको बताइन्छ ।