साप्ताहिक संवाददाता
२० असारमा प्रदर्शन हुने भनिएको चलचित्र ‘सानो मन’ २७ असार आजबाट प्रदर्शनमा आएको छ । शिल्पा मास्केले यो चलचित्रमा आफूले निकै मेहनत गरेको र चलचित्र दर्शकहरूलाई मन पर्ने जिकिर गरेकी छिन् । नायिका मास्के आफूले लन्डन बसेर विदेशी फिल्ममा समेत काम गरेको कुरा बताउँदै स्वदेशमै केही गर्छु भनेर नेपाली चलचित्रमा अभिनय गर्न थालेको बताउँछिन् । कथा प्रभावशाली लागेर आफूले चलचित्र सानो मनमा काम गरेको र आफ्ना तर्फबाट सकेको काम गरेको कुरा बताउँदै मास्के भन्छिन्— अब दर्शकले यो चलचित्रको मूल्यांकन गर्नुहुनेछ ।
यस्तै नवनायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो चलचित्र भए पनि निकै मेहनत गरेको र यो चलचित्रबाट ठूलो आशा राखेको बताउँछन् । यता निर्माता राजेन्द्र मानन्धरले कथा मन परेर यो चलचित्र निर्माण गरेको बताएका छन् ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘सानो मन’ मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मि भट्ट, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल आदि कलाकारले अभिनय गरेका छन् ।
ओपिजी फिल्म्स, ए प्लस इन्टरटेन्मेन्ट तथा हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको सानो मनको सम्पादन सुयोग गुरुङ तथा मिलन श्रेष्ठले गरेका हुन् । यो चलचित्रका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल तथा राजेन्द्र मानन्धर हुन् । रीत बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी विधाको चलचित्र हो, जसको छायांकन आलोक शुक्लाले गरेका छन् ।