साप्ताहिक संवाददाता
दुई वर्षअघि प्रदर्शित चलचित्र ‘पञ्चायत’ बाट अभिनेत्री नीता ढुंगानाले प्रशस्त प्रशंसा पाइन् । यही चलचित्रको भूमिकाका लागि नीताले नेपालदेखि अमेरिकासम्म भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र एवार्डहरूमा उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत प्राप्त गरिन् । यद्यपि, ढुंगानाको दाँतमा त्यतिबेला ढुंगा लाग्यो, जब उनले देशकै प्रतिष्ठित चलचित्र एवार्डमा पुरस्कृत हुने अवसर गुमाइन् । नीताले अत्यन्त आशा गरेको उक्त एवार्डबाट अभिनेत्री बेनिशा हमाल पुरस्कृत भइन् ।
आफ्नो भूमिकाको चौतर्फी प्रशंसा भैरहेका बेला तथा यसअघि वितरण गरिएका अधिकांश एवार्डमा आफैं पुरस्कृत भैसकेकाले नीताले राष्ट्रिय चलचित्र एवार्डमा पुरस्कृत हुने आशा गर्नु गलत होइन् । यद्यपि निर्णायकले नीताको तुलनामा बेनिशालाई उत्कृष्ट माने । फलस्वरुप बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’ मा निर्वाह गरेको दृष्टिविहीन सृष्टि केसीको भूमिकाबाट पुरस्कृत हुने अवसर पाइन् ।
बेनिशाले एवार्ड उचालेको करिव २४ घण्टापछि नीताले फेसबुकमा एउटा स्टाटस लेख्दै चित्त दुखाइन् । उनको भनाइ छ— ‘राम्रो चलचित्र बनाउनु पर्दैन, मात्र....सँग...मिलाउनुस्, सबै कुरा हासिल गर्न सकिन्छ रे नि त ।’ नीताले के सँग के मिलाउन सक्नुपर्छ भन्न खोजेकी हुन्, त्योचाहिँ खुलाएकी छैनन् । यद्यपि, उनको आशय शुक्रबार वितरण गरिएको राष्ट्रिय चलचित्र एवार्डप्रति नै लक्षित छ भन्ने बुझ्न गाह्रो पर्दैन ।