कमिक्स तथा एनिमे–गेम (एनिमेटेड एनिमी वर्ल्ड) मा देखिने बहादुर, आकर्षक र मन लोभ्याउने पात्रहरू, जो हेर्ने दर्शकका मन–मस्तिष्कमा डेरा जमाएर बस्छन्, ती काल्पनिक चरित्र हुन् । ती चरित्रको पहिरन, हाउभाउ तथा कटाक्षमा एक दिनका लागि भए पनि आफूलाई ढाल्नु कसप्लेयरको काम हो ।
कसप्लेयरहरूको निजी र सार्वजनिक जीवन फरक छ । यिनीहरू आफ्नो फ्यानपेजमा अर्कै नामले उपलब्ध हुन्छन् । हरेक कसप्लेयरको निक नेम हुन्छ, जसले गर्दा फ्यान फलोइङका कारण नीजि जीवनमा असर र हस्तक्षेप नहोस् । यसमा लाग्ने अधिकांश युवा यो आफ्नो करियरका लागि निकै सहयोगी हुने बताउँछन् । विशेषत यसमा समर्पण, सम्बन्ध जोडने क्षमता र सामाजिकीकरण लगायतका थुप्रै विषयमा अभ्यास गर्न पाइने हुनाले पनि यो व्यवसायिक क्षेत्रका लागि सहयोगी हुने उनीहरूको बुझाइ छ ।
कसप्लेयर हुन खर्चिलो छ, त्यसैले यी युवाहरू दसैं–तिहारमा जम्मा भएको पैसा, अभिभावकले खाजा र गाडी चढ्न दिएको पकेटमनी आदि जम्मा गरेर आफ्नो रहर पूरा गर्छन् । आफूलाई चरित्रमा ढालेर उनीहरूको हाउभाउ, व्यवहारलाई आफूभित्र समाहित गराउँदा यिनीहरू निकै सिर्जनात्मक हुन्छन् । आफ्नो सिर्जनशीलताको आडमा विभिन्न चरित्रका पहिरन, केश तथा मेकअपलाई फ्युजन पनि गर्छन्, तर चरित्रको चुरो भने मर्न दिँदैनन् जसले गर्दा दर्शकले हेरिरहेको चरित्रको हाउभाउ वास्तविक जस्तो देखियोस् । क्रिएटिभ मोडिफिकेसन कसप्लेका लागि मुख्य तत्व मानिन्छ । गेमिङ वर्ल्डमा स्किन उपलब्ध भए पनि नेपाली कसप्लेयरहरू भने स्किन आफैं बनाउँछन् ।
नेपाल ई–स्पोर्टस एसोसिएसन (नेसा)का अध्यक्ष सुरज डंगोलका अनुसार नेसाले गत वर्षदेखि कसप्लेयरहरूबीच प्रतिस्पर्धा समेत गराउँदै आएको छ । त्यसमा उनीहरूको कलात्मक सिर्जनालाई मुख्य स्थान दिइन्छ । गत वर्षको कसप्लेयर प्रतिस्पर्धामा २० जना भन्दा बढी प्रतिस्पर्धी थिए । यो वर्षको सेप्टेम्बर ६ र ७ मा भृकुटीमण्डपको हलमा ई–स्पोर्टसअन्तर्गत डोटा टु, फिफा–१९ गेम हुँदैछ भने यो वर्ष पनि कसप्ले प्रतिस्पर्धा समेत हुनेछ । कसप्लेका जुरीहरूले पहिरन, एक्सेसरिज, एक्टिङ, वेपन्सका आधारमा प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट छान्ने काम गर्छन् । विदेशतिर यो खेल अत्यन्त लोकप्रिय हुनुका साथै हाइ–प्रोफेसनल पेसाका रूपमा स्थापित भैसकेको छ । हामीकहाँ पनि यो क्रमशः अघि बढ्दैछ जसलाई उत्प्रेरित गर्न नेसाले विभिन्न इभेन्टहरू गरिरहेको छ ।
कमिक्सको प्रचलन अमेरिकाबाट सुरु भयो भने एनिमे जापानबाट, यसको इतिहास लामो छ । सन् १९८४ मा पहिलो पटक जापानमा कसप्ले सम्बन्धी कार्यक्रम आयोजित गरिएको थियो । अमेरिकामा भने कमिक्समा आधारित कसफ्ले कार्यक्रम र त्रियाकलाप त्यो भन्दा अघिदेखि हुँदै आएको छ । विदेशतिर अन्तर्राष्ट्रिय स्पर्धाका रूपमा आयोजना हुने कसप्ले नेपालमा भने भर्खरै मात्र भित्रिँदैछ । अन्तर्राष्ट्रिय रूपमा यो एउटा प्रतिष्ठित र आकर्षक पेसा भैसकेको छ, तर नेपालमा भने यसको अवधारणा नै नयाँ छ, कसप्ले प्रवर्द्धनमा विगत तीन वर्षदेखि लागिपरेका ओटाकु जात्राका रोहित श्रेष्ठ भन्छन्– हामीले भर्खरै आयोजना गरेको कसप्ले सम्बन्धी एउटा कार्यक्रममा ४ सय रुपैयाँ शुल्क तिरेर १० हजारभन्दा बढी दर्शक आए । यसले नेपालमा पनि कसप्लेप्रतिको रुचि र आकर्षणलाई प्रमाणित गर्छ । ऊक्त कार्यत्रममा नेपालका अन्य सहरी क्षेत्रबाट ३ सय ७५ जना कसप्लेयर सहभागि थिए ।
२५ वर्षीय रोहित श्रेष्ठ बिजनेस डेभलपमेन्ट अफिसर तथा इभेन्ट म्यानेजर हुन् । श्रेष्ठ कसप्लेले युवालाई विभिन्न प्रकारका गलत क्रियाकलाप एवं गतिविधिबाट टाढै राख्ने बताउँछन् । जसको प्रमुख कारण हो– कसप्लेयर हुन समय, पैसा र मस्तिष्क सबै उत्तिकै खर्च गर्नुपर्छ । कसप्लेयर हुन सिर्जनशील मस्तिष्क, दृढता, धैर्यता एवं परिकल्पना गर्न सक्ने क्षमता आवश्यक कुरा हुन्, जसमा युवाहरू आफूलाई ढालिरहेका हुन्छन्, समय खर्च गरिरहेका हुन्छन्, उनीहरू आफूलाई अझ बढी सिर्जनशील बनाइरहेका हुन्छन् ।
१९ वर्षीया हिमानी मल्ल कलेजकी छात्रा हुन् । ९ वर्षको उमेरदेखि एनिमे–गेमबाट प्रभावित हिमानीले १५ वर्ष नपुग्दै कसप्ले गर्न थालिन् । मल्ल विशेषत हतियारधारी वा अलि बलियो चरित्रबाट आकर्षित हुन्छिन् । हिमानीले हालसम्म आर्मर, आइरन म्यान, हिनाता, आइरन म्यान जेन्डर बेन्डमा कसप्ले गरिसकेकी छिन् । ‘हिनाता फर नारुतो द लास्ट’ नामक श्रृंखलाबद्ध चलचित्रको मुख्य पात्र हिनाता ह्युगाको चरित्रमा हिमानीले निकै मेहनत गरी फ्युजन हिनाताको कसप्ले गरेकी थिइन् जुन उनलाई अहिलेसम्म आफूले गरेको सबैभन्दा मन परेको कस्सप्ले हो ।
२० वर्षीय अनिष डंगोल त्यतिबेला ९ कक्षामा अध्ययनरत थिए, एक जना दाइले तिमी पनि एनिमे–वर्ल्ड ट्राइ गर, एउटा रमाइलो र छुट्टै संसारमा पुग्छौं भनेपछि पहिलो पटक झम्सीखेलमा भएको सानो कसप्ले कार्यक्रम हेर्न गए । उनलाई त्यसप्रति रुचि जाग्यो । ‘प्राक्टिस मेक्स अ म्यान पर्फेक्ट’ भनेझैं निरन्तरको अभ्यास र त्यसप्रतिको दृढताले दक्ष बनाउँदै लग्यो । डंगोलले चार वर्षअघिले ‘इरेगुलर एट म्याजिक हाइस्कुल’ को तात्सुया शिवाको चरित्रमा कसप्ले गरे । अत्यन्त शक्तिशाली तर परिचय लुकाएर बसेको उक्त चरित्रलाई उनले मनैदेखि यसरी प्ले गरे, दर्शकहरू स्वयं तात्सुया शिवा प्रकट भएको अनुभूत गरिरहेका थिए । त्यसले मलाई थप उत्साहित तुल्यायो–डंगोल भन्छन् ।
बनेपाकी बन्दिका अवालेले कसप्ले गर्न थालेको पाँच वर्ष पुग्दैछ । उनलाई अद्भुत चरित्रलाई आधुनिकतामा ढालेर त्यसैमा हराउन मन लाग्छ । कहिले उनी निख्खर सेतो लामो केशमा कालो पहिरन लगाउँछिन् । उनी यस्तो चरित्र निर्वाह गर्दो नीलो आकाशमा परीझैं लामो केश फिँजाएर उड्न रुचाउँछिन् ।
१९ वर्षीया किर्ति चाम्लिङ राई विदेशमा नेपालको प्रतिनिधित्व गर्ने कसप्लेयर हुन् । दुईवटा राष्ट्रिय च्याम्पियनसिप हात पारेका राईको टिमले न्यू दिल्ली कमिक कनमा नेपालको प्रतिनिधित्व गरेको थियो ।
२१ वर्षीया डोल्मा दोङ कसप्लेद्वारा थुप्रै ज्ञान आर्जन गर्न सकिने र जीवनोपयोगी कलाहरू सिक्न सकिने बताउँछिन् । दोङ भन्छिन्– यो खेल भित्र युवाहरूलाई सही बाटोमा ल्याउने गुण छ, यसले युवाहरूलाई बाटो बिराउनबाट जोगाउँछ ।
रोहित श्रेष्ठ, प्रोप्राइटर, ओटाकु जात्रा
रोहित नेपालमा कसप्ले इभेन्ट गर्ने पहिलो कम्पनी ओटाकु जात्राका सञ्चालक हुन् । श्रेष्ठ आफैं पनि कसप्लेयर हुन् । ८ कक्षा पढ्दा एनिमे हेरेर त्यसतर्फ झुकाव बढेको बताउने रोहित उतिबेला १०–१० एपिसोडको सिडी किन्न ३० देखि ५० रुपैयाँ खर्च गर्थे । त्यतिबेला इन्टरनेट भित्रिइसकेको थिएन । अहिले भने श्रेष्ठ फरक–फरक वेबसाइटमार्फत एनिमे हेर्छन् । रोहितका अनुसार एक दिनका लागि शक्तिमान चरित्र निर्वाह गर्नुपर्यो भने कस्ट्युम, सिल, ढाल, आर्मर लगायत अन्य एक्सेसरिज तयार गर्न २५ देखि ५० हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले रोहित अहिले यसलाई व्यवसायिक बनाउने ध्याउन्नमा छन् ।
हिमानी मल्ल, छुर्पी
हिमानीको कसप्ले फ्यानपेज नाम छुर्पी हो । कसप्ले गर्न थाल्दा अत्यन्तै अर्न्तमुखी स्वाभावकी हिमानी अहिले अत्यन्त बहिर्मुखी भएकी छिन् । हिमानीमा सामाजिकीकरणको विकाश भैसकेको छ । उनको १५ जना ग्रुप एभेन्जर्सको पहिरनमा ‘एभेञ्जर्स एन गेम’ हेर्न लाबिम मल पुग्दा हलको पहिलो लाइन उनीहरूकै लागि खाली गरिएको थियो । उक्त चलचित्रमा एभेन्जर्सको मृत्यु हुँदा उनीहरू पन्ध्रै जना एभेन्जर्सको ड्रेसमा हाइफाइभ गर्दै सिटबाट उठ्दा हलभित्रको वातावरण क्षणभरमै उल्लासमय भएको थियो, जुन हिमानीका लागि सर्वाधिक स्मरणीय क्षण हो । छुर्पीलाई यस्ता रचनात्मक काममा युवाहरूले आफूलाई व्यस्त राख्न सके भने गलत बाटोमा लाग्न पाउँदैनन् भन्ने विश्वास छ । यसैका कारण पढाइमा कुनै बाधा नहुने बरु पढ्नमा रुचि जाग्ने हिमानीको दाबी छ ।
अनिष डंगोल, युजेन–ए
२० वर्षका युजेन–एको फ्यान फलोइङ गज्जबको छ । उनले निर्वाह गरेको चरित्र मन पराउनेहरू पनि उत्तिकै छन् । आफ्ना अभिभावकका एक्ला सन्तान अनिष चरित्रलाई आत्मसात गरेर कसप्ले गर्छन् । भविष्यमा सफल एफ एन्ड बी (फुड एन्ड वेभरेज) म्यानेजर बन्ने लक्ष्य लिएका अनिष कसप्लेलाई करियर र सिर्जनशील मस्तिष्कका लागि धार लगाउने यन्त्रका रूपमा लिन्छन् । चरित्र निर्वाहका लागि अनिष चरित्रको हरेक पाटोको गहिरो अध्ययन गर्छन् भने कस्ट्युम फ्युजन गर्न पनि उत्तिकै प्रखर छन् । कसप्ले गर्दा आफ्नो भित्री इच्छालाई यथार्थमै बाहिर ल्याउन पाइने भएकाले जीवनमा अत्यन्त खुसी मिल्ने र हरेक कुरामा सफलताको भोक जाग्ने अनिषको अनुभव छ ।
बन्दिका अवा, मैंचा कसप्लेयज
३ वर्षअघिदेखि मैंचालाई कसप्लेले तान्यो । पहिलो कसप्ले हेर्न गएकी बन्दिकाले त्यसपछि कसप्लेयर्सहरूबाट प्रभावित भएर आफै कसप्ले गर्न थालिन् । बन्दिका आर्किटेक्ट इन्जिनियरिङकी पहिलो वर्षकी छाक्रा हुन् । ‘डिसीको कटाना’ नामक तटस्थ चरित्र निर्वाह गरेकी बन्दिकाले वन्डर वुमन, मार्बल स्ट्रम, आरबीसी तथा देकुजस्ता शत्तिशाली एवं रोमान्चक चरित्र निर्वाह गरिसकेकी छिन् । कसप्ले चरित्र निर्वाह गर्दा उनी विग्स, प्रप्स, कस्ट्युम बनाउने काम आफै गर्छिन् । त्यस्ता वस्तुलाई भाडामा लगाएर वा बेचेर प्राप्त पैसा उनी कसप्लेमै खर्च गर्छिन् । कसप्लेले उनको पढाइमा कुनै असर नपारेको बरु समय व्यवस्थापनको कला सिकाउँदै लगेको बन्दिकाको अनुभव छ ।
कृति चाम्लिङ राई, किट्टी लभर्स कस्टप्ले
१९ वर्षीया कृति विद्यार्थीका अतिरिक्त शिक्षिका पनि हुन् । कृति जापानी एनिमेसन, कार्टुनहरू हेर्दाहेर्दै कसप्लेतर्फ आकर्षित भएकी हुन् । एनिमेलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिने रै’छ भन्ने लागेरै कृतिले १५ वर्षको उमेरदेखि कसप्ले गर्न थालेकी हुन् । बोआ हङकङ, सेबर, लिजन कमान्डर, लिच किङ आदि चरित्र निर्वाह गरिसकेकी कृतिलाई सबैभन्दा मन परेको सेभर कसप्लेले कमिक कन–२०१७ मा उत्कृष्टताको उपाधि नै जितेको थियो । त्यसपछि न्यु दिल्ली कमिक कनमा उनको टिमले नेपालको प्रतिनिधित्व गरेको थियो । कृतिको लिजन कान्डरले इस्पोर्ट च्याम्पियनसिप–२०१८ मा प्रथम स्थान प्राप्त गरेको थियो । मनोचिकित्सक बन्ने लक्ष्य लिएकी कृति कसप्ले आफ्नो लक्ष्य पूरा गर्न थप सहयोगी हुने विश्वास व्यक्ति गर्छिन् ।
डोल्मा दोङ, डोल्मा देसु
६ वर्ष अघिदेखि कसप्ले गर्दै आएकी डोल्मा देसु ओटाकु एनिमे क्लब पेज सुरु भएदेखि नै त्यसमा आवद्ध छिन् । नेपालको पहिलो कसप्ले कार्यक्रममा रिन नोहाराको चरित्र निर्वाह गरेकी डोल्माले हालसम्म एक दर्जन भन्दा बढी कसप्ले गरिसकेकी छिन् । प्रारम्भमा डोल्मा साझा रुचिका कुरामा रमाइलो हुने, ह्याङआउट हुने भएकाले उस्तै रुचिका समूहमा घुलमिल हुन थालिन् । त्यसपछि उक्त समूहसँग मिलेर सिर्जनात्मक काम गर्न थालिन् । त्यतिबेला उनीहरू आ–आफ्नो आइडिया सेयर गर्दै पहिरन तयार पार्थे । पहिले बिग पाइँदैनथ्यो । आफ्नै केशलाई रंगाएर वा काटेर, स्प्रे गरेर पनि उनीहरू कसप्ले गर्थे । डोल्मा उनी भविष्यमा मोजाइक आर्टिस्ट बन्ने सुरुमा छिन् । कसप्ले गर्दा आफ्नै हातले तयार पारिएका सामानहरू आफैंले लगाएर कसप्ले गर्दा जीवनमा केही उपलब्धि मिलेजस्तो आभास हुन्छ भने आफैंप्रति गर्व समेत हुने डोल्मा बताउँछिन् ।
कसप्लेयर हुनुका फाइदा
व्यवहारिक ज्ञान प्राप्त हुन्छ ।
सञ्चार–संवाद क्षमतामा अभिवृद्धि हुन्छ ।
सिर्जनशीलताको विकास हुन्छ ।
रणनीतिक व्यवस्थापन एवं सीपमादक्षता प्राप्त हुन्छ ।
समय व्यवस्थापन गर्ने कला सिकिन्छ ।
व्यक्तित्व विकास हुन्छ ।
आत्मविश्वास बढ्छ ।
आफूलाई सामाजिकीकरण गर्दै जुनसुकै क्षेत्रमा पनि स्थापित हुन सकिन्छ ।