साप्ताहिक संवाददाता
त्यसै पनि अभिनेता हरिवंश आचार्य प्रयोग गरिरहन रुचाउने कलाकार हुन् । उनले विभिन्न टेलिश्रृंखला, चलचित्र, नाटक तथा म्युजिक भिडियोहरूमा हालसम्म विभिन्न प्रकारका गेटअपमा प्रस्तुत भएर नौलो प्रयोग गर्दै आएका छन् । पछिल्लो समयमा भने उनले आफ्नै स्वरको एउटा गीतमा रमाइलो प्रयोग गरेका छन् । ‘बूढो हुन मन छैन..’ शीर्षकको उक्त गीतलाई आचार्यले बुढ्यौली शैलीमै गाएका छन् ।
आफ्नै रचनाको उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक छ । सुदन केसीद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेता आचार्यको अभिनयले चौतर्फी प्रशंसा पाएको छ । उक्त गीतमा बुढेसकालमा खान मन लागेको कुरा खान नसकिने, रहर लागेको कुरा गर्न नसकिने, आफ्ना इच्छा र रहरलाई मनमै गुम्स्याउनुपर्ने, यति हुँदाहुँदै पनि बुढ्यौलीलाई हामी सबैले स्वीकार गर्नैपर्ने यथार्थता व्यक्त गरिएको छ ।
वास्तविक जीवनमा ६० वर्ष पुगे पनि आचार्य स्वयंलाई भने हालसम्म बुढ्यौलीले छोएको छैन । प्रस्तुत गीतको भिडियोमा अभिनेता आचार्य सुट, ह्याट तथा फुलेको घोप्टे जुँगामा आकर्षक देखिएका छन् ।