साप्ताहिक संवाददाता
निर्देशक विशाल भण्डारीको पहिचान केबल म्युजिक भिडियो तथा चलचित्र निर्देशनमा मात्र छैन । टेलिभिजनमा विभिन्न शो सञ्चालन गरिसकेका विशालले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बाट चलचित्र निर्देशनमा ‘डेब्यु’ गरेका थिए । उनी चाँडै नै कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’ शीर्षकको रियालिटी शो लिएर दर्शकमाझ आउँदैछन् ।
कमेडी च्याम्पियनको तयारी कहाँ पुग्यो ?
अहिले हाम्रो डिजिटल अडिसन चलिरहेको छ । कमेडी च्याम्पियनको मोबाइल एप र हाम्रो आधिकारिक वेबसाइटमार्फत भिडियोहरू आइरहेका छन् । भिडियो लिने अवधि एक महिनासम्म चल्ने भएकाले भिडियोको संख्या अझ बढ्नेमा आशावादी छौं ।
अडिसनका लागि भिडियो आउने अनुपात कस्तो छ ?
छोटो समयमै प्रशस्तै भिडियो आइरहेका छन् । हामी अहिले त्यसको फिल्टरमा व्यस्त छौं । हामीले खोजे जस्तो भिडियोभन्दा पनि अलिक काम नलाग्ने किसिमका भिडियो बढी आइरहेका छन् । हामी अझ राम्रो भिडियोको खोजीमा छौं ।
तपाईंको टेलिभिजन शोले आम दर्शकको अपेक्षा पूरा गर्ला कि नगर्ला ?
अवश्य गर्छ । हामी अन्तर्राष्ट्रिय रूपमा चलेको कमेडी शोको फ्रेन्चाइज नभै नेपालकै अर्ग्यानिक शो चलाउन गैरहेका छौं । हामी नेपालकै अर्ग्यानिक कन्टेन्टलाई प्राथमिकता दिन्छौं । नेपालमा हास्यपरक टेलिभिजन कार्यक्रमको बजार राम्रो भएकाले यो शोले दर्शकको अपेक्षा अवश्य पूरा गर्नेछ । हामीसँग नेपाल आइडल, भ्वाइस अफ नेपालजस्ता प्रतिष्ठित रियालिटी शोको जनशक्ति भएकाले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्न प्रयासरत छौं ।