भारतीय चर्चित टेलिभिजन च्यानल आजतकले नेपाली अभिनेता राजेश हमाललाई बलिउडका महानायक अमिताभ बच्चनसँग तुलना गरेको छ । हमालबारे लेखिएको ४ सय ७४ शब्दको रिपोर्टमा आजतकले खुबै प्रशंसा गरेको छ ।
आजतकले भनेको छ, ‘नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिएका राजेश हमाल भारतीय दर्शकका लागि चिरपरिचित अनुहार त होइनन्, यद्यपी राजेश यस्ता अभिनेता हुन् जो नेपालमा महानायकको रुपमा लोकप्रिय छन् ।’ रिपोर्टमा ५५ बर्षिय हमाललाई भारतीय अभिनेता शाहरुख खान जस्तै हिट अभिनेताको रुपमा समेत लोकप्रिय रहेको चर्चा गरिएको छ ।
प्रिया शाडियल्सले लेखेको उक्त स्टोरीमा हमालको स्टारडमसँगै व्यक्तीगत जीवनलाई समेत जोड दिइएको छ । १९८८ मा निर्माण भएको चलचित्र ‘युग देखि युगसम्म’ बाट चलचित्रमा करिअर सुरुवात गरेका हमालले नेपाली दर्शकहरुमा निकै गहिरो छाप छोडेको जनाएको छ । निकै संघर्षपछि मात्रै राजेश हमालले आफ्नो यो स्टारडम कमाएका थिए, रिपोर्टमा भनिएको छ, ‘यो केहि समयको संघर्षको प्रतिफल होइन ।’
अभिनेता हमालका पिता चुडा बहादुर हमाल राजनैतिक नियुक्तीबाट पाकिस्तानका लागी नेपाली राजदुत बनेका थिए । उक्त समयमा नेपालमा अभिनय भन्ने कुरा निकै सामान्य कामको रुपमा लिइन्थ्यो । चलचित्र क्षेत्रमा आउनका लागी हमालले परिवारको निकै विरोध सहनुपरेको समेत भनिएको छ । उनका पिता छोराको अभिनय यात्रालाई कहिल्यै सहमती नजनाएको समेत आजतकले जनाएको छ ।
राजेशले भारतको पन्जाब युनिभर्सिटीबाट एमए डिग्री हासिल गरेका थिए । पछि उनले मस्कोबाट आफ्नो अध्ययन पुरा गरेका थिए । हमालले आफ्नो केशलाई निकै माया गर्थे । कतिसम्म भने हमालले आफ्नो बुबाको अन्तिम संस्कारमा परम्परा समेत तोडेर केश काटेका थिएनन् ।
हमाल पछिल्लो समय बहुचर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ को होस्ट गरिरहेका छन् । हमालले आफुभन्दा २२ बर्ष कान्छि मोडल मधु भट्टराईसँग बिहे गरेका थिए । उनिहरुको प्रेम सम्बन्ध निकै रोचक छ । उनिहरु पहिलोपटक २००४ मा आयोजित लक्स ब्युटि स्टार कार्यक्रममा भेट भएका थिए । लामो समयको डेटपछि २०१४ मा उनिहरुले बिहे गरेका थिए । रिपोर्टमा २२ बर्षको उमेर अन्तर भएपछि हमालको दाम्पत्य जिवन निकै राम्रो चलेको जनाइएको छ ।
आजतकले अन्तिममा जोडेको छ, ‘भारतमा अमिताभ बच्चनको जुन लोकप्रियता छ, त्यस्तै नेपालमा राजेश हमालको चर्चा छ ।’