साप्ताहिक संवाददाता
मोटर स्पोर्टस् अन्तर्गत पर्ने अटो जिमखाना आफैंमा जोखिमयुक्त खेल हो । त्यसैले यो खेलका लागि पहिरन निकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा त एफआइएबाट प्रमाणित पहिरनबिना सहभागिता जनाउनै पाइँदैन । यस्तो पहिरनको मूल्य नै ४ देखि ५ लाख पर्छ ।
एडभेन्चर र ग्ल्यामर, कार रेसिङका दुई प्रमुख विशेषता हुन् । त्यही एडभेन्चर्स गेम्स कार रेसिङ अन्तर्गतको एउटा विधा अटो जिमखाना नेपालमा विरलै हुने खेल हो । अटो जिमखानामा रुचि राख्ने मानिसहरू नेपालमा पनि भेटिन्छन् । खासै चर्चामा नआए पनि नेपालले विगत केही वर्षयता एसियाली स्तरको अटो जिमखाना प्रतियोगितामा सहभागितासमेत जनाउँदै आएको छ । यद्यपि पर्याप्त खेल नहुने तथा न्यून लगानीजस्ता कारणले अपेक्षाकृत प्रतिफल भने हात पर्न सकेको छैन ।
युवा पुस्ताको रुचिको खेल बन्दै गएको अटो जिमखानामा सम्बद्ध निकायहरूले चासो दिने हो भने यसमा नेपाली खेलाडीले राम्रो नतिजा हात पार्न सक्ने खेलाडी अमरज्योति रञ्जित बताउँछन् । ‘विश्वमै चासोको खेलका रूपमा रहेको यो खेललाई राज्यले ध्यान दिने हो भने थुप्रै विदेशी नेपालमा कार रेसिङका लागि आउन सक्छन्,’ रञ्जित भन्छन् ।
सरकारले योजनावद्ध रूपमा खेलको यो विधालाई अघि बढाउने हो पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यमा पनि सहयोगी हुने खेलाडी अनिलकुमार बराल बताउँछन् । ‘नेपालको भौगोलिक बनावट कार रेसिङका लागि ठूलो सम्भावनायुक्त छ,’ बराल भन्छन्, ‘त्यसैले यो खेलको प्रचार—प्रसारमा राज्यले समयमै ध्यान दिने हो भने पर्यटन वर्ष २०२० सफल बनाउन कुनै गाह्रो छैन् ।’
सन् २०१९ को पहिलो सहभागितामा नेपालबाट अनिलकुमार बराल, आशिष भारती तथा जिस्वाँ तुलाधर श्रेष्ठ प्रतिस्पर्धी थिए । उक्त विधामा १६ राष्ट्रका ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपालिको प्रतिस्पर्धाले थप हौसला प्रदान गरेको बराल बताउँछन् । एसियाली देशहरूबीचको यस्तो प्रतिस्पर्धामा नेपाल छैटौं स्थानसम्म पुगेको छ । गत वर्ष ताइवानमा भएको अटो जिमखाना कार रेसिङ प्रतियोगितामा नेपाली खेलाडी अमर रञ्जित छैटौं स्थानसम्म पुगेको बताइन्छ ।
त्यो खेलको क्वालिफाइङ राउन्डमा रञ्जितले विश्व च्याम्पियन जापानका मासाकीलाई पराजित गरेका थिए । उक्त जितले सबैलाई चकित तुल्याएको कुरा सम्झँदै रञ्जित भन्छन्, ‘म जस्तो खेलाडीले विश्व च्याम्पियनलाई पराजित गरेर अघि बढ्नु चानचुने कुरा थिएन ।’
संगठित खेलाडी
अटो जिमखानाका खेलाडीहरू नेपालमा संगठित छन् । अटो स्पोटर््सलाई अघि बढाउने उद्देश्यले सन् २००८ मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को स्थापना भएको थियो । उक्त एसोसिएसनले समग्र रेसिङ र अटो स्पोटर््सलाई आधिकारिक रूपमा हेर्दै आएको छ । नासाले अन्तर्राष्ट्रिय स्तरमा रेसिङ प्रतियोगिता गराउँदै आएको संस्था फेडरेसन इन्टनेशनल डि अटोमोबाइल्स (एफआइए)बाट सदस्यता लिएको छ । नासाले चार पांग्रे अटोमोबाइल हेर्ने जिम्मा नेपाल मोटर स्पोटर््स क्लबलाई दिएको छ । नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २५ देखि ३० जना खेलाडी क्लबमा आवद्ध भएको क्लबका सचिव अनिलकुमार बराल बताउँछन् । नासा र नेपाल मोटर स्पोटर््स क्लबको संयुक्त आयोजनामा सन् २०१७ मा धुलिखेलमा अटो जिमखाना प्रतियोगिता सम्पन्न गरिएको थियो जसमा ४२ जना खेलाडी सहभागी थिए ।
३ करोड रुपैयाँको लगानीमा रेसिङ ट्रयाक
सरकारले यो खेलतर्फ ध्यान नदिए पनि नासाले काभ्रेपलान्चोकको धुलिखेलमा करिव ३ करोड रुपैयाँको लगानीमा ८ सय मिटरको रेसिङ ट्र्याक निर्माण गरेको छ । जसलाई ‘हिमालयन मोटर ल्यान्ड’ का नामले चिनिन्छ । सरकारले समेत साथ दिने हो भने नेपाली खेलाडीहरूले राम्रो प्रतिस्पर्धा गर्न सक्ने नासाका अध्यक्ष दशरथ रिसाल बताउँछन् । रिसाल भन्छन्, ‘अरु देशमा डाँडाकाँडा बनाउनुपर्छ तर हामीलाई प्रकृतिले डाँडा–काँडा दिएको छ ।’
महँगो पहिरन, नेपालमा पाइँदैन
मोटर स्पोर्टस् अन्तर्गत पर्ने अटो जिमखाना आफैंमा जोखिमयुक्त खेल हो । त्यसैले यो खेलका लागि पहिरन निकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा त एफआइएबाट प्रमाणित पहिरनबिना सहभागिता जनाउनै पाइँदैन । यस्तो पहिरनको मूल्य नै ४ देखि ५ लाखको हाराहारीमा पर्ने खेलाडीहरू बताउँछन् । एफआईएबाट प्रमाणित उक्त पहिरन नेपालमा नपाइने खेलाडी अमर रञ्जितले बताए ।
प्रशिक्षक छैनन्, आफ्नै भरमा खेलाडी
नेपालमा अटो जिमखानामा रुचि राख्ने थुप्रै छन् । खेलाडीलाई प्रशिक्षण दिने कुनै प्रशिक्षक छैनन् । आफ्नै अनुभव र अग्रजको सल्लाह–सुझावका आधारमा खेल दक्षता निखार्दै लगेको खेलाडीहरू बताउँछन् । यद्यपि, मोटर्स ड्राइभिङमा रुचि राख्ने नयाँ खेलाडीहरूलाई भने खेलको नियम, विविध जानकारीका साथै यसरी चलाउनुपर्छ भन्ने सामान्य ज्ञान नेपाल मोटर्स स्पोटर््स क्लबले प्रदान गर्ने क्लबका कोषाध्यक्ष यदुराज लामिछाने (आशिष)ले बताए ।
नेपालमा पर्याप्त सम्भावना
अटो जिमखाना होस् वा अन्य रेसिङ, नेपालमा थुप्रै सम्भावना भएको यसमा संलग्न सरोकारवालाहरू बताउँछन् । नेपालमा अटो जिमखानामा रुचि राख्ने राष्ट्रिय स्तरका खेलाडी ३० देखि ४० जति छन् । यी खेलाडीलाई प्रोत्साहित गर्न तथा आर्थिक रूपमा बलियो बनाउन सक्ने हो भने नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सकिन्छ । नेपालको भौगोलिक अवस्था अनुसार कार रेसभित्रका सबै विधा समेट्ने हो भने स्पोटर््स टुरिज्मको सम्भावना बढ्ने उनीहरूको दाबी छ ।
के हो अटो जिमखाना ?
अटो जिमखाना मोटर स्पोर्ट्सभित्रकै एउटा खेल हो, जसमा छोटो सर्किट डिजाइन गरेर खेलाडीलाई १५ मिनेट समय दिइन्छ । खेलाडीले १५ मिनेटभित्र पूर्णरूपमा चाल आफ्नो दिमागमा बसाइसक्नुपर्छ । त्यसैले अटो जिमखानाका खेलाडीहरूको मस्तिष्क चुस्त हुनुपर्छ । त्यसबाहेक चालकमा तीव्र गति र कुशलता हुनु आवश्यक छ । खेलाडीले १५ मिनेटभित्र पूर्णरूपमा चाल दिमागमा बसाइसकेपछि सुरुवाती प्वाइन्ट दिइन्छ त्यसपछि रेस सुरु हुन्छ । यसमा खेलाडीले तोकिएको ट्र्याकमा आफ्नो कला प्रदर्शन गरी छोटोभन्दा छोटो समयमा बाहिर निस्कनुपर्छ । जो छिटो त्यसबाट निस्कन सक्छ उसले खेल जित्छ । खेल जित्न छिटो निस्किएर मात्र हुँदैन, ट्र्याकमा राखिएको पोल छोए मात्र पनि अंक काटिन्छ । यो खेल डा. व्वाङ विङ याङले सन् २००५ मा ताइवानमा सुरु गरेका थिए ।
अटो जिमखाना कार रेसिङ प्रतियोगितामा नेपालले सन् २०१६ यता नियमित सहभागिता जनाउँदै आएको छ । यो अवधिमा नेपालले उत्कृष्ट खेल प्रदर्शनका साथै सन्तोषजनक नतिजासमेत हात पारेको छ । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाएका खेलाडी तथा कार रेसिङका सौखिनहरूको अनुभव ः
अमर ज्योति रञ्जित
अटो जिमखानाप्रति अमर ज्योति रञ्जितको निकै मोह छ । करिब १० वर्षअघि रञ्जितको संलग्नतामा नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा) को स्थापना भयो । नासा स्थापना हुनुभन्दा पहिले पनि विभिन्न समयमा उनीहरूले कार तथा मोटरसाइकल र्याली सञ्चालन गर्दै आएका थिए । त्यतिबेला समय, दुरी र गति अर्थात (टिडिएस) प्रणालीका आधारमा प्रतिस्पर्धा गराइएको रञ्जित बताउँछन् । साप्ताहिकसँगको कुराकानीमा रञ्जितले भने, ‘सन् १९९७ मा म सिंगापुर गएको थिएँ, त्यहाँ मैले टिडिएस सिस्टमका दुई–चारवटा खेल हेरें, यो खेल नेपालमा गर्न सकिन्छ जस्तो लाग्यो अनि नेपाल आएर पहिलो पटक सन् १९९८ मा र्याली आयोजना गर्यौं ।’
१६–१७ वर्षको उमेरदेखि नै मोटरसाइकल हाँक्न थालेका रञ्जित २५ वर्ष भएपछि आफूले कार चलाउन थालेको बताउँछन् । बेलाबेलामा विदेश गैरहने रञ्जितले त्यहाँ कार रेसिङ सम्बन्धी थुप्रै खेल हेर्ने मौका पाए । त्यसैअनुरूप उनले नेपालमा पनि यस्ता खेलहरू सञ्चालन गर्न थाले । यही क्रममा सन् २०१६ सालमा रञ्जितलाई गोविन्द भट्टराईले कोरियामा हुने अटो जिमखाना प्रतियोगितामा भाग लिन जानुपर्यो भन्ने प्रस्ताव दिए । मोटर्स स्पोटर््समा रुचि भए पनि त्यतिबेलासम्म आफूलाई अटो जिमखानासम्बन्धी कुनै पनि ज्ञान नभएको रञ्जित बताउँछन् । भट्टराईले प्रस्ताव ल्याएपछि केही अनुभव लिन पाइन्छ भनेर उनी कोरिया गएँ ।
कोरियामा त्यहाँको रेसिङ सर्किट देखेरै उनी आत्तिए । उनीसँग पर्याप्त पहिरनसम्म थिएन । उनले तुरुन्तै बुट किनें अनि हेलमेट र पन्जा आयोजकहरूसँगै मागेर खेलें । कोरियामा सिकेको अनुभवका आधारमा रञ्जितले नेपालमा सन् २०१७ मा अटो जिमखाना प्रतिस्पर्धाको आयोजना गरे । उक्त खेलको कोअर्डिनेटर रञ्जित आफैं थिए । त्यसपछि उनले सन् २०१७ मा बैंककमा भएको एसियन अटो जिमखाना प्रतियोगिताको दोस्रो राउन्डमा सहभागिता जनाए । उक्त खेलमा उनी २२ औं स्थानमा आए । त्यसपछि सन् २०१८ मा ताइवानमा भएको एसियन अटो जिमखाना प्रतियोगितामा सहभागी भए, जहाँ उनले पहिलो राउन्डको क्वालिफाइङ राउन्डमा जापानका खेलाडी मासाकीसँग प्रतिस्पर्धा गरे । मासाकी अटो जिमखानाको विश्व च्याम्पियन थिए । रञ्जित मासाकीलाई हराउन सफल भए । मासाकीलाई हराइसकेपछि त्यहाँको माहोल निकै तात्तियो । रञ्जित भन्छन्, ‘मैले मासाकीलाई पराजित गरेपछि त्यो दिन नेपालको तारिफ नगर्ने कोही भएनन् ।’
मासाकीलाई हराएपछि अर्को चरणमा उनले बाई पाए, त्यसपछि उनी सिधै टप ६ फाइनालिस्टमा पुगे । त्यो फाइनल राउन्ड थियो । भोलिपल्ट फाइनल भयो र उनी मकाउसँग पराजित भए । यदि मकाउलाई जितेको भए कम्तीमा तेस्रो स्थानसम्म आउने रञ्जित बताउँछन् । रञ्जितले आजसम्म जति अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाए तिनमा आफैंले खर्च गरिरहेको उनी बताउँछन् ।
अनिलकुमार बराल
अनिलकुमार बराल इन्जिनियरिङका विद्यार्थी हुन् । चितवनका अनिलको रुचि भने मोटर्स स्पोटर््समा छ । ३६ वर्षीय यी तन्नेरी अहिले नेपालमा झण्डै विरलै हुने कार रेसिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर फर्किएका छन् । इन्डोनेसियामा हालै सम्पन्न एसियन अटो जिमखाना प्रतिस्पर्धामा उनले सन्तोषजनक खेल प्रदर्शन गरेका थिए ।
करिब १६ वर्ष अघिको कुरा हो, बराल प्राविधिक तालिमका लागि जापान पुगेका थिए । त्यतिबेला उनले त्यहाँका मानिसहरूले कार रेसिङ गरेको देखे । त्यसपछि कार रेसप्रति आकर्षण बढेको बराल बताउँछन् । उक्त रेसिङ देखेपछि उनले त्यहीँ मोटरसाइकल रेसिङ पनि गरे । त्यसपछि रेसिङमा लाग्न थप हौसला मिल्यो । जापानबाट फर्किएको केही समयपछि बराल तालिमका लागि थाइल्यान्ड पुगे । त्यहाँ पनि उनले मोटर्स स्पोटर््सका खेलहरू हेर्ने मौका पाए । बराल भन्छन्— मोटर्स स्पोटर््सका खेलाडीमा स्थिरता, हिम्मत, सीपजस्ता गुणहरू हुनुपर्छ ।
इन्जिनियरिङ र अटोमोबाइल्समा करियर बनाइरहेका बराल मोटर्स स्पोटर््सलाई आफ्नो सौखका रूपमा लिन्छन् । यसै क्रममा मोटर्स स्पोटर््समा रुचि राख्ने अन्य व्यक्तिहरूसँग उनको सम्पर्क बढ्न थाल्यो । त्यसपछि मोटर स्पोटर््सलाई अघि बढाउन मोटरसाइकल तथा कार र्याली गर्न थालियो । सन् २०१७ को कुरा हो, मोटर्स स्पोर्टमा रुचि राख्ने अटोमोबाइल्सका विभिन्न व्यक्तिहरूको संलग्नतामा उनीहरूले नेपाल मोटर्स स्पोटर््स क्लबको स्थापना गरे । उक्त क्लबमा बराल हाल सचिव छन् । यो क्लबमा बिस्तारै मोटर्स स्पोटर््समा रुचि राख्ने व्यक्तिहरू एकिकृत हुँदै गए । त्यसपछि क्लबले २०१७ मा भक्स वागनसँगको सहकार्यमा धुलिखेलमा राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगिता आयोजित गर्यो । उक्त प्रतियोगितामा बरालले चिफ प्रोगाम कोअर्डिनेटरको काम गरे । धुलिखेलमा भएको त्यही प्रतियोगिता नै नेपालमा भएको पहिलो अटो जिमखाना प्रतियोगिता थियो । उक्त प्रतियोगितामा ४२ प्रतियोगीले प्रतिस्पर्धा गरेको बराल सम्झछन् ।
यससँगै बरालले पहिलोपटक सन् २०१७ मा थाइल्यान्डमा सञ्चालित एसियन अटो जिमखाना प्रतियोगितामा सहभागिता जनाए । उक्त प्रतियोगितामा उनी ६ सेकेन्डले पराजित भएका थिए । त्यसयता उनले ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
जिस्वाँ तुलाधर श्रेष्ठ
जिस्वाँ तुलाधर श्रेष्ठले हालसम्म दुईवटा एसियाली अटो जिमखाना प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । नेपालबाट अटो जिमखाना प्रतियोगितामा सहभागिता जनाउने पहिलो महिला तुलाधर नै हुन् । तुलाधरले २०१७ मा पोखरादेखि अन्नपूर्ण वेस क्याम्पसम्मको एकल यात्रा गरेकी थिइन् । उनको उक्त एकल यात्रालाई नेपाल मोटर स्पोटर््स क्लवका अध्यक्ष दिपक आचार्यले चासोका साथ हेरेका रहेछन् । आचार्यले तुलाधरलाई सन् २०१७ मा नेपालमा पहिलो पटक भएको राष्ट्रिय अटो जिमखाना प्रतियोगितामा भाग लिन आग्रह गरे । दुविधामा हुँदाहुँदै पनि उनले उक्त प्रतिस्पर्धामा सहभागिता जनाइन् । त्यो प्रतियोगितामा उनीसहित चार जना महिलाले भाग लिएका थिए ।
तुलाधर भन्छिन्, ‘त्यसपछि म यसका बारेमा खोजी गर्न थालें र आफू मातहतका साथीहरूलाई पनि यसमा लाग्न सुझाव दिन थालें ।’ उनले इन्टरनेट तथा युट्युबहरूको आवश्यक जानकारी पनि बटुलिन् ।
अरु दिन काममा व्यस्त भएपनि उनी हरेक शनिबार श्रीमान्का साथ धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा अभ्यासका लागि पुग्छिन् । २०१७ मा नेपालमा भएको खेल खेलेपछि उनी नेपाल मोटर स्पोटर््स क्लबमा पुगिन् । त्यहाँ उनको भेट अमर रञ्जित, अनिल बराल आदिसँग भयो । उनीहरूले त्यहाँ उनलाई अन्तर्राष्ट्रियस्तरको अटो जिमखानामा प्रतिस्पर्धा गरेको भिडियो देखाए । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने रहर जाग्यो । तुलाधरले सन् २०१८ को थाइल्यान्डमा सम्पन्न एसियाली अटो जिमखाना प्रतियोगितामा भाग लिने निर्णय गरिन् । नेपालबाट महिला खेलाडीका रूपमा पठाउने निर्णय क्लबले पनि गरेपछि अमर रञ्जित, आशिष लामिछाने लगायतले उनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा कसरी गर्ने भन्ने कुरा सिकाए अनि उनी थाइल्यान्ड गइन् ।
७ जनामात्र महिला सहभागी उक्त प्रतिस्पर्धाको दोस्रो चरणको खेलमा महिलातर्फको सुपर स्टेज जिमखानामा तेस्रो स्थान हासिल गरिन् । थाइल्यान्डबाट फर्किएपछि उनलाई यसप्रति रुचि जाग्यो । त्यसपछि उनले इन्डोनेसियामा भएको एसियाली अटो जिमखानाको पहिलो चरणको प्रतियोगितामा सहभागिता जनाइन् । आफ्नै खर्चमा देश तथा विदेशको खेलमा सहभागिता जनाउँदै आएकी तुलाधर आफूमार्फत अन्य महिलाहरूलाई पनि यसतर्फ आकर्षित गराउन चाहन्छिन् । तुलाधर भन्छिन्, ‘कुनै पनि काम कसै न कसैले त सुरुवात गर्नैपर्छ, त्यसैले मैले सुरु गर्दा अरु महिलाहरूलाई पनि सहज होला ।’ उनकी जेठी छोरी १६ वर्षकी भइन् भने १८ वर्ष पुगेपछि उनलाई अटो जिमखाना प्रतियोगितामा सहभागी गराउने तुलाधरको चाहना छ ।
आशिष भारती (रोनी)
मेकानिकल इन्जिनियरिङका विद्यार्थी आशिष भारतीको प्रेम कारसँग छ । भारती सन् २०११ देखि २०१६ सम्म इन्जिनिरिङ अध्ययनका लागि फिलिपिन्समा थिए । त्यहाँ उनले विभिन्न विधामा हुने कार रेसिङ अवलोकन गर्ने मौका पाए । फिलिपिन्समै भएका उनका एक जना साथीका बुबा गाडीप्रेमी थिए । ती साथीका भिनाजु त्यहाँका नामी रेसर हुन् । भारती भन्छन्, ‘त्यहाँ साथीको भिनाजुले कार रेसिङ गरेको देख्दा निकै रमाइलो लाग्थ्यो, त्यसपछि मैले कार रेसिङका विभिन्न पक्ष उहाँबाटै सिकें ।’ यही क्रममा उनले फिलिपिन्समा कार पनि कुदाए ।
इन्जिनियरिङको अध्ययन सकेर भारती सन् २०१६ मा नेपाल फर्किए । नेपाल फर्किएसँगै उनमा कार रेसिङप्रतिको मोह बढ्दै गयो । केही समयपछि नेपालमा राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगिता सञ्चालनमा आयो । भारती उक्त प्रतियोगिताको र्याली क्रसमा चौथो र जिमखानामा नवौं स्थानमा पुगेर बाहिरिए । यसरी बाहिरिँदा निकै दुःख लागेको भारती बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला बाहिरिँदा मनमा ईख पलायो, मैले हिम्मत हारिनँ ।’
सन् २०१७ मा भएको राष्ट्रिय स्तरको मोटर्स स्पोटर््समा विजेता बन्न नसके पनि उनले हिम्मत हारेनन् । सन् २०१८ को प्रतियोगितामा उनी प्रथम भए । साप्ताहिकसँगको कुराकानीमा भारती भन्छन्, ‘अघिल्लो प्रतियोगिता हारेपछि धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा अभ्यास गर्न थालें, त्यसपछि २०१८ को नेशनल च्याम्पियन भएँ ।’ यही क्रममा भारती सन् २०१८ मा थाइल्यान्डमा भएको एसिया अटो जिमखाना प्रतियोगिताको राउन्ड ४ मा सहभागी भए, जसमा उनी सोलो क्वालिफाइङमा दसौं स्थानसम्म पुगें । यो वर्ष इन्डोनेसियामा भएको एसिया अटो जिमखाना प्रतियोगितामा ४२ जना प्रतियोगीमध्ये २४ औं नम्बरमा आएको भारती बताउँछन् । आशिष भन्छन्, ‘यो खेलमा सेकेन्डको फरकका आधारमा तल माथि हुन्छ, विजेता र मेरो समयको फरक ५ सेकेन्ड मात्र थियो ।’
मोटर्स स्पोटर््समा लाग्न भारतीलाई घरपरिवारको समेत राम्रो साथ एवं सहयोग छ । यो महँगो खेल हो,
त्यसैले यसमा सहभागी धेरैलाई आर्थिक रूपमा नै समस्या हुन्छ । भारती भन्छन्, ‘मलाई बुबाको सहयोग नहुने हो भने मेरो तलबले मात्र मलाई केही गर्नै पुग्दैन ।’