साप्ताहिक संवाददाता
गत साता हलमा दुई चलचित्र ‘एकलव्य’ र ‘सुपर गोर्खे’ प्रदर्शनमा आए । यी दुवै चलचित्र व्यवसायिक रूपमा असफल भए । पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘एकलव्य’का निर्देशक अनमोल शर्मा र त्यही विषयको अर्को चलचित्र ‘सुपर गोर्खे’का निर्देशक राज थापा हुन् । चलचित्रका वितरक गोपालकाजी कायस्थका अनुसार दुवै चलचित्रको व्यापार उल्लेख गर्न योग्य छैन ।
‘कुन चलचित्र अगाडि छ भन्दा पनि दुवै चलचित्रको व्यापार उस्तै छ अर्थात् दुवैलाई लगानी उठाउन गाह्रै छ’, गोपालकाजीले भने, ‘शुक्रबार र शनिबार केही दर्शक भए पनि त्यसयताको दर्शक संख्या न्यून नै छ ।’
उपत्यकाका सिंगल थिएटरमा यी दुवै चलचित्रका दर्शक अत्यन्तै न्यून थिए । हल सञ्चालकहरूका अनुसार कतिपय थिएटरमा कम दर्शक भए पनि उनीहरूले कमै दर्शकको उपस्थितिमा दुवै चलचित्र प्रदर्शन गरेका थिए । एउटा भवनमा धेरै थिएटर भएका गोपीकृष्ण, गुण, अष्टनारायण आदिमा दुवै चलचित्रका दर्शकको उपस्थिति दयनीय थियो ।
चलचित्र ‘एकलव्य’मा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, सुशील पोखरेल, सुष्मा कार्की, महिमा सिलवाल आदि कलाकारको अभिनय छ । त्यस्तै ‘सुपर गोर्खे’ मा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइँटेल, कामना भुजेल आदि कलाकारले काम गरेका छन् ।