म २६ वर्षीय विवाहित पुरुष हुँ । मेरो लिङ्गको टुप्पाको बाहिरी भागलाई छालाले पूरै ढाकेको छ फलस्वरूप यौनसम्पर्क गर्दा कहिलेकाहीं पीडा अनुभव हुन्छ । सुनेको छु, टुप्पाको ऊक्त छाला शल्यत्रिया गरेर फाल्न सकिन्छ । यदि त्यसो हो भने त्यस्तो शल्यक्रिया नेपालका कस्ता अस्पतालमा उफलब्ध छ ? शल्यक्रिया गर्दा कति समय लाग्छ र शल्यत्रियापछि कति दिन आराम गर्नुपर्छ अनि खर्च कति लाग्ला ?
- एनपी
लिङ्ग एउटा विशेष छालाले छोपिएको हुन्छ र त्यो लिङ्गको वरिपरि मात्र नभै त्यसको केही भाग लिङ्ग भन्दा पनि अगाडि तिर आएको हुन्छ । लिङ्गको मुण्डलाई छोप्ने छालाको उक्त विशेष पत्रलाई अग्रचर्म भनिन्छ । त्यसलाई बाल्यकालमा फर्काउन नमिले पनि किशोरावस्थामा पुगेपछि भने फर्काउन मिल्छ । अग्रचर्ममा भएको प्वाल सानो भएर पछाडितिर फर्काऊन नसकिने अवस्थालाई Phimosis भनिन्छ ।
यो वाहिरी छाला साँगुरीएको अवस्थामा केही नगरी बसे केही समस्या सिर्जना हुनसक्छ । यसरी प्वाल साँगुरिएको भए पनि अलि बल प्रयोग गरेर पछाडि त फर्काइयो तर फेरि अगाडि ल्याउन सकिएन भने समस्या हुन्छ । कसै–कसैको यस्तो छालामा पिसाबको धारा नै राम्रोसँग नआउने गरी प्वाल नै निकै सानो हुन्छ । त्यस्तो छ भने मूत्र प्रणालीमा केही असर देखा पर्न सक्छ । यसरी अग्रचर्मको प्वाल सानो हुँदा लिङ्ग उत्तेजित भएका बेला वा हस्तमैथुन वा यौन सम्पर्क गर्दा केही असजिलो हुन्छ ।
अग्रचर्म काट्न गरिने शल्यक्रियाका सम्बन्धमा तपाईंले सुन्नु झएको कुरा सत्य हो । त्यस्तो शल्यक्रियालाई Circumcision भनिन्छ । १०–१२ मिनेटमै सकिने यस्तो शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्य चिकित्सकको सल्लाह बमोजिम दुखाई कम गर्ने तथा अन्य औषधीे सेवन गर्नुपर्ने हुनसक्छ । त्यसबाहेक केही दिनपछि तपाईंले आफ्नो घाऊ जचाउन पुनः शल्यचिकित्सक कहाँ पुग्नुपर्छ । नेपालका कुनै पनि ठूला अस्पतालको शल्यचिकित्सा विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन सकिन्छ । खर्च भने अस्पताल अनुसार फरक–फरक हुनसक्छ तर धेरै महँगो भने हुँदैन ।