साप्ताहिक संवाददाता
श्रावण २०, २०७६
प्रदूषण नियन्त्रणका लागि विभिन्न उपाय भैरहेको समयमा सोलार पावरबाट चल्ने र आफैं चार्ज हुने संसारकै पहिलो कारको विकास गरिएको छ । डच कम्पनी लाइट इयरले सोलार पावरबाट चार्ज हुने विश्वकै पहिलो लङ रेन्जको कारको प्रोटोटाइप सार्वजनिक गरेको छ ।
यसको नाम लाइटइयर वान राखिएको छ र यसलाई एकपटक चार्ज गरेर ७ सय २५ किलोमिटर चलाउन सकिन्छ । सोलार पावरका साथै यसलाई आवश्यकताअनुसार विद्युतबाट समेत चार्ज गर्न सकिन्छ । यसमा चार्ज गर्न सोलार सेल लगाइएको छ भने सुरक्षाका लागि सेफ्टी ग्लाससमेत प्रयोग गरिएको छ ।
सन् २०१६ मा स्थापना भएको लाइट इयर कम्पनीले यस्ता धेरै कार बजारमा उपलब्ध गराउने योजना बनाएको छ । यो कार सन् २०२१ सम्म बजारमा आउने तथा सुरुमा ५ सय कार मात्र उपलब्ध हुने बताइएको छ । यसको मूल्य १ लाख ३५ हजार अमेरिकी डलर हुने अनुमान गरिन्छ ।