साप्ताहिक संवाददाता
केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’का अभिनेता यशराज गराच यतिबेला अर्को चलचित्र ‘लभ यु हमेशा’को प्रमोसनमा जुटेका छन् । अग्लो शरीरका यशराज भोजनमा नुन प्रयोग गर्दैनन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
यशराजले आफ्नो मोटो ज्यान घटाउनकै लागि लामो समयदेखि नुनविहिन खानेकुरा खाँदै आएका छन् । घरमा होस् वा सुटिङस्थलमा, उनी नुन नभएको खानेकुरा नै खान्छन् । त्यसो त घरमा उनका लागि छुट्टै खानेकुरा पाक्छ ।
शरीरको वजन घटाउन नुन नखाने निर्णय लिएपछि शुरुका तीन दिन उनलाई सकस नै भयो । शरीर असजिलो हुनुका साथै उनको टाउको पनि दुख्यो, तर बानी परेपछि अहिले कहीँ–कतै झुक्किएर नुन खाँदा उनको टाउको दुख्छ ।
नुन नखाएपछि यशराजको ध्यान फलफूल तथा हरिया सागपातमा जान थालेको छ । ज्यान घटाउनकै लागि अभिनेता तथा अभिनेत्रीहरू जिममा धाइरहेको अवस्थामा यशराजको नुन नखाने काइदाचाहिँ मान्नैपर्छ ।