साप्ताहिक संवाददाता
कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र निर्माण गर्ने भएका छन् । लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि घोषणा हुन नसकिरहेको बेला यो जोडीले बुधवार ‘सेन्टि भाइरस’ निर्माण गर्ने घोषणा गरेको हो ।
सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्र कमेडी जनराको हुने जनाइएको छ । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सिताराम कट्टेलले ‘क्रिकेट रंगशालाको काम भैरहेको छ, डीपीआर दशैंसम्म सकिन्छ । त्यो भन्दा अघिसम्म यो चलचित्रको छायांकन सक्ने योजना छ ।’
सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने यो चलचित्र पुर्ण हाँस्यव्यङ्ग्य किसिमको हुने अभिनेत्री कुन्जना घिमीरेले बताइन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान सँगसँगै हामीले हाम्रो कलाकारितालाई पनि निरन्तरता दिने कोशिस गरेका छौं, धुर्मुसले भने, ‘सोही अनुसार सुबिहानी फिल्म्सको व्यानरमा निर्माता डिन्डु लामा हेल्मो तथा रामबाबु गुरुङको निर्देशनमा ‘सेन्टिभाईरस’ चलचित्र घोषणा गरेका छौं । आशा छ, यहाँहरुले माया गरिदिनुहुनेछ ।’
नेपाली चलचित्र उद्योगमा कुन चलचित्र चल्छ–चल्दैन कसैले पनि भन्न सक्ने अवस्था छैन । निकै आशा गरिएका चलचित्र पनि चिप्लिएका छन् । सामान्य बजेटमा निर्माण भएका चलचित्रले राम्रो आम्दानी गरेका पनि छन् । तर, सामाजिक अभियन्ता समेत रहेका धुर्मुसले ढुक्कका साथ भने, ‘चलचित्रको मुनाफाको २० प्रतिशत सामाजिक काममा खर्च गर्नेछौं ।’
चलचित्रलाई कुमार कट्टेल र दिपक आचार्यले लेखेका हुन् । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । डिन्डु लामा निर्माताको रुपमा छन् भने फूर्पा लामा सह–निर्माताको रुपमा छन् ।