साप्ताहिक संवाददाता
चलचित्र ‘बुलबुल’बाट नेपालमा राष्ट्रिय अवार्ड तथा श्रीलंकामा सम्पन्न ‘सार्क फिल्म फेस्टिभल’मा ‘जुरी अवार्ड’ पाएपछि अभिनेत्री स्वस्तिमा खड्काको चर्चा चुलिएको छ । स्वस्तिमा यतिबेला आफू अभिनित चलचित्र ‘हजार जुनीसम्म’को प्रमोसनमा व्यस्त छिन् । स्वस्तिमाले साप्ताहिकसँग आफूलाई दिक्क लाग्ने विषयमा अनुभव साटेकी छिन् ।
झुट बोल्ने मान्छे
मलाई झुट बोल्ने मान्छे भेट्दा र देख्दा एकदमै दिक्क लाग्छ । नचाहिने कुरा गरेर कसैलाई प्रभावित तुल्याएको देख्दा अझ बढी दिक्क लाग्छ ।
बिहान उठ्न
म कहिल्यै बिहान चाँडै उठ्दिनँ । चलचित्रको छायांकनका बेला चाहिँ काम नै गर्नुपर्ने हुन्छ र उठ्नुपर्छ । अन्यथा अन्य समयमा बिहान सबेरै उठ्न दिक्क लाग्छ ।
अनेक समाचार
सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा आइरहने अनेक किसिमका समाचार पढ्दा र सुन्दा दिक्क लाग्छ ।
दोहोरो चरित्र भएका मानिस
दोहोरो चरित्र देखाउने मानिसहरू देखेर दिक्क लाग्छ । सबैसँग ठिक्क पार्ने मानिस पनि त्यस्तै खालका हुन्छन् ।
घरमा धेरै बस्दा
म दिनभरि घरमा बस्न सक्दिनँ । घरमा बस्दा घरको काम गर्ने, टेलिभिजन हेर्ने र नेट चलाउने काम गर्छु तर दिनभरी बसेर गर्न सक्दिनँ । दिनभर घर बस्नुपर्दा पनि मलाई दिक्क लाग्छ ।