साप्ताहिक संवाददाता
गायक उदय सोताङको गीत ‘हजार जुनीसम्म खोजी बसें तिमीलाई’ नेपाली सांगीतिक क्षेत्रमा सदावहार मानिन्छ । आफ्नी प्रेमिकाको खोजीका लागि प्रेमीले गरेको त्यागको मर्म समेटिएको यही गीतको शीर्षक लिएर चलचित्र ‘हजार जुनीसम्म’ निर्माण भएको छ । गत साताबाट प्रदर्शनमा आएको यो चलचित्र यतिबेला थिएटरमा चलिरहेको छ । चलचित्रले गीतको मर्मजस्तै झन्डै १४ वर्षदेखि अलग भएकी ‘माया’ नामकी एक प्रेमिकालाई भेट्ने उनको प्रेमी ‘सिद्धान्त क्षेत्री’को चाहना प्रस्तुत गरेको छ ।
चलचित्रको कथा प्रमुख पात्र आर्यन सिग्देल उर्फ सिद्धान्तबाट सुरु हुन्छ । युवावस्थामा गायनमा रुचि राख्ने सिद्धान्त चलचित्र सुरु हुँदा केश र दार्ही–जुँगा फुलेको लुक्समा देखिन्छन् । संगीतको सोखकै कारण उनले पोखरामा गीतार पसल खोलेका छन् जहाँ उनको भेट अवन्तिका अर्थात् स्वस्तिमा खड्कासँग हुन्छ । स्वस्तिमा गीतारको तार बनाउन त्यहाँ पुग्छिन् । आर्यनले अवन्तिकालाई गीतार ठीकै छ भने पनि आर्यनको खोकीबाट स्वस्तिमा डराउँछिन् । १४ वर्षदेखि प्रेमिकाबाट अलग्गिएका आर्यन उनकै पीरमा मदिरा र चुरोटको अम्मली भएका हुन्छन् ।
आर्यनका छोरा अभिषेक प्रधान अर्थात् आर्थव कलेज पढ्छन् । उनी नेपालबाहिर जानुपर्ने भएपछि पासपोर्ट बनाउन बुवाको नागरिकता माग्छन् । आर्यनले दराजमा नागरिकता र अन्य कागजात रहेको बताएपछि आर्थवले दराजबाट नागरिकता लिन्छन्, तर आर्यनले नागरिकताबाहेक अरू केही पनि नचलाउनु भनेकाले आर्थवले खुलदुलीपूर्वक त्यहाँ भएका सबै सामान हेर्छन् जहाँ उनले माया अर्थात् प्रियंका कार्कीसँग जोडिएका सामग्री पाउँछन् । ती सामग्रीका बारेमा चासो दिएपछि आर्थवले आर्यनसँग सबै कुरा जान्न खोज्छन् । आर्यनले मायासँग सिक्किममा नौ दिनमा माया बसेको कुरा खुलाएपछि आर्थवले आर्यनलाई सिक्किम पुर्याउने निर्णय लिन्छन् जसमा उनलाई आर्थवका साथी सलोन बस्नेतले साथ दिन्छन् ।
पोखराबाट सिक्किम पुगेपछि आर्यनको मायासँगको भेट र उनीसँग मौलाएको नौ दिने प्रेमसम्बन्धको पोको खुल्दै जान्छ । गीत गाउन रुचाउने आर्यनको रेस्टुराँमा माया अर्थात् प्रियंका कार्कीसँगको भेट, उनले रचना गरेको गीत ‘हजार जुनीसम्म’ गाउन नसकेको बताएपछि प्रियंकाले गीत गाएको दृश्य, यही बीचमा मौलाएको उनीहरूको प्रेम र आर्यन एल्बम निकाल्न पोखरा आउनुपर्दाको दृश्य आर्यनले सम्झिएपछि उनीहरूको प्रेमकथा छर्लंग हुन्छ ।
आर्यन र प्रियंकाको प्रेमका बारेमा जानकार सञ्चिता लुइँटेल भने उनीहरूको प्रेम रुचाउँदिनन् । सिक्किममै बस्ने सञ्चितालाई एक नेपाली युवाले गर्भवती बनाएर हिँडेपछि प्रियंकाले पनि त्यस्तै धोका पाउलिन् भन्ने उनलाई डर छ । १४ वर्षपछि मायालाई खोज्दै सिक्किम आएका आर्यनलाई भेट्दा सञ्चिताले त्यही रिस पोख्छिन् । आर्यनले आफूलाई दिपंकर भन्ने व्यक्तिले प्रियंकाको विवाहको कार्ड ल्याएर दिएको बताएपछि सञ्चिताले पनि दिपंकरले नै प्रियंकाको विवाहको कार्ड ल्याएको खुलाउँछिन् । त्यसपछि आर्यनको परिवार र सञ्चिताको परिवार दिपंकरकहाँ पुग्छन्, तर दिपंकरले मायाका बारेमा केही थाहा नपाएको बताउँछन् । त्यसपछि माया अर्थात् प्रियंकाको खोजी सुरु हुन्छ ।
यो चलचित्रका निर्देशक विकासराज आचार्य हुन् । ‘नाइँ नभन्नू ल’ सिरिजबाट चर्चामा आएका यी निर्देशकले ‘हजार जुनीसम्म’लाई ‘नाइँ नभन्नू ल’बाट मुक्त राखेका छन् । ‘नाइँ नभन्नू ल’को जस्तो रोदन यो चलचित्रमा छैन । ‘नाइँ नभन्नू ल’मा अनुभव रेग्मीको सेन्टिमेन्टलाई क्यास गरेका निर्देशक विकासले ‘हजार जुनीसम्म’मा आर्यनबाट क्यास लिएका छन् । अभिनयको कुरा गर्दा आर्यनको अभिनय जीवन्त छ, चाहे कपाल फुलेको चरित्रमा होस् वा युवावस्थामा होस् । सहायक चरित्रमा देखिएका सलोन दर्शक हँसाउने मसला बनेका छन् । नयाँ अनुहार आर्थव अर्थात् अभिषेक प्रधानको अभिनय नेचुरल लाग्दैन । उनको संवाद बुझ्नै गाह्रो पर्छ । प्रियंका, सञ्चिता तथा स्वस्तिमाको अभिनय ठीक–ठाक छ । प्रेमकथात्मक चलचित्र मन पराउने दर्शकका लागि ‘हजार जुनीसम्म’ एउटा राम्रो खुराक बन्न सक्छ ।