साप्ताहिक संवाददाता
बिपिन कार्की तथा अभिनेत्री स्वस्तिमा खड्कालाई यतिबेला चलचित्र क्षेत्रका नम्बर एक अभिनेता–अभिनेत्री मान्न थालिएको छ । केही समयअघि प्रदान गरिएको राष्ट्रिय एवार्डमा विपिनले चलचित्र प्रसादबाट तथा स्वस्तिमाले बुलबुलबाट सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एवार्ड जितेका थिए । यी दुवै अभिनेता–अभिनेत्रीले हरेक प्रकारको भूमिका निर्वाह गरेर आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।
रोचक कुरा के छ भने उनीहरूले अहिलेसम्म जोडीका रूपमा भने एउटै चलचित्रमा अभिनय गरेका छैनन् । यद्यपि उनीहरूको जोडी बाँधिने सम्भावना प्रवल हुँदै गएको छ । स्वस्तिमाले हालै आफ्नो इन्स्टाग्राममा आफ्नो आठौं चलचित्रको शीर्षक अनुमान गर्न आग्रह गरेकी थिइन् ।
उनले अनुबन्ध भैसकेको उक्त चलचित्रको शीर्षक, निर्माता तथा निर्देशकको नाम गोप्य राखेकी छिन् । स्वस्तिमाले शीर्षक पत्ता लगाउन आग्रह गरेको उक्त चलचित्रमा उनको जोडीका रूपमा विपिन कार्की रहने सम्भावना अत्यधिक भएको बताइन्छ । विशाल सापकोटाले निर्देशन गर्ने चलचित्र ‘सेल्फी किङ’ नै स्वस्तिमा र विपिनलाई एक ठाउँमा ल्याउने चलचित्र हुने अनुमान गरिएको छ ।