साप्ताहिक संवाददाता
विद्युतीय कार र बाइकको बजार विश्वभर नै बढिरहेको छ । विद्युतीय सवारी साधनलाई भविष्यको सवारीका रूपमा समेत लिइन्छ । यही कुरालाई मनन गरी नेपाली बजारमा पनि विद्युतीय सवारी साधनहरू भित्रिरहेका छन् । यस पटकको नाडा अटो शोमा पनि केही नयाँ सवारी साधन भित्रिँदै छन् ।
जिनियस ब्रान्डका बाइक तथा स्कुटर
नाडा अटो शोमा जिनियस ब्रान्डका इलेक्ट्रिक बाइक तथा स्कुटर पहिलो पटक सार्वजनिक गरिने भएको छ । कम्पनीले हाललाई ४ वटा मोडलका बाइक एवं २ वटा मोडलका स्कुटर उपलब्ध गराउनेछ । बाइकको मूल्य २ लाख ७८ हजार देखि ३ लाख ७८ हजार तथा स्कुटरको मूल्य १ लाख ८९ हजार र १ लाख ९६ हजार रुपैयाँ हुने बताइएको छ । झट्ट हेर्दा हेभी र स्पोर्टी बाइकको झझल्को दिने यी बाइकमा ३ हजार र ५ हजार वाटको मोटर जडान गरिएको छ भने सबैमा ७२ भोल्टको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । यो बाइकमा भएको ब्याट्रीलाई ६ देखि ८ घण्टा सम्म चार्ज गर्दा १ सय २० किलोमिटर माइलेज प्रदान गर्छ भने यो स्कुटरमा १ हजार २ सय वाटको मोटर जडान गरिएको छ । एउटा स्कुटरमा ६० र अर्कोमा ७२ भोल्टको ब्याट्री छ । जिनियस स्कुटरमा भएको ब्याट्रीलाई ६ देखि ८ घण्टा सम्म चार्ज गर्दा १ सय किलोमिटर भन्दा बढी माइलेज पाइने कम्पनीको दाबी छ ।
एमजीको इजेडएस
एमजीको इलेक्ट्रिक कार इजेडएसले ११० किलोवाट पावर तथा ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४ सय २८ किलोमिटरसम्म चलाउन सकिन्छ । इजेडएसको ब्याट्री लाइफ ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर (वारेन्टी) छ भने यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ पर्छ ।
बीवाईडीको एम–३
चाइनिज कम्पनी बीवाईडीले नेपाली बजारमा एम–३ लाई उतारेको छ । मिनी एमपीभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध छ । यो गाडीको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ भएको बताइएको छ । बीवाईडी एम–३ ले फुल चार्जमा ३ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
किया निरो
कियाको नयाँ इलेक्ट्रिक कार निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा जडित १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर तथा ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७–८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ । एक पटकको फुलचार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने निरोको मूल्य ६६ लाख ९० हजार रुपैयाँ पर्छ ।
टाटा टिगोर ईभी
टाटाले टिगोर ईभीलाई गत वर्षको नाडा अटो शोमा डिस्प्ले गरेको थियो । टिगोर ईभी एक्सएम र एक्सटी गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । विभिन्न तीन रङमा खरिद गर्न सकिने यो कारमा ड्युअल एयरब्याग, एबीएस, रेयर पार्किङ सेन्सर आदि विशेषता छन् । टिगोर ईभीमा १६ दशमलव २ किलोवाटको ब्याट्री छ जसले ४१ पीएस पावर तथा १०५ एनएम टर्क दिन्छ । यो कारले फुल चार्जमा १ सय ४२ किलोमिटर माइलेज दिने बताइएको छ ।
दाहे इलेक्ट्रिक
केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको चिनियाँ ब्रान्ड दाहेको इलेक्ट्रिक कार दुईवटा ब्याट्री अप्सनमा उपलब्ध छ । लिड एसिड ब्याट्री तथा लिथियम आयोन ब्याट्रीका साथ उपलब्ध यो कारले १ सयदेखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले बताएको छ । यसमा दिइएको लिड एसिड ब्याट्रीले एक पटकको फुल चार्जमा १ सयदेखि १ सय २० किलोमिटरसम्म र लिथियम आयोन ब्याट्रीले १ सय २० देखि १ सय ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । लिड एसिड ब्याट्री जडित यो कारको सुरुवाती मूल्य १३ लाख ९० हजार रुपैयाँ छ भने लिथियम आयोन ब्याट्रीयुक्त गाडीको मूल्य १५ लाख ९० हजार रुपैयाँ छ ।
हुन्डाई कोना
कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत बाहिरी डिजाइन छ । यसको भित्री भागमा भएको सेन्टर कन्सोलले सहज रूपमा गाडी चलाउन सहयोग गर्छ । कोना ईभीले १ सय ३५ पीएसको पावर दिन्छ भने यसले दरिलोपनका साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९ दशमलव २ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी ड्राइभ गर्न सकिन्छ । कोना ईभीको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ पर्छ ।
निउका इलेक्ट्रिक स्कुटर
निउ ब्रान्डको नयाँ मोडलको इलेक्ट्रिक स्कुटर निउ एनजीटी पनि यो अटो शोमा सार्वजनिक हुँदैछ । यो स्कुटरको मूल्य ४ लाख २५ हजार रुपैयाँ हुने कम्पनीले बताएको छ । यो स्कुटरमा फास्ट चार्जिङको सुविधा उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गर्दा १ सय २० किलोमिटरभन्दा बढी चलाउन सकिन्छ । ३ हजार वाटको मोटर जडान गरिएको यो स्कुटरमा डबल ब्याट्रीको सुविधा छ । निउका स्कुटरमा इनबिल्ट जीपीएस उपलब्ध छ । यसलाई विश्वकै प्रचलित स्मार्ट स्कुटर मानिन्छ ।
सुपर सोको
नेपाली बजारमा नयाँ कम्पनीका रूपमा सुपर सो समेत भित्रिने भएको छ । कम्पनीले नाडा अटो शोमा दुई मोटरसाइकल र एउटा स्कुटर ल्याउने तयारी गरेको बताएको छ । अटो शोमा सुपर सोकोका टिसी र टिसी म्याक्स मोटरसाइकल तथा सियू–डुकाटी स्कुटरको एउटा मोडल उतारिनेछ । सुपर शोको युरोपेली इलेक्ट्रिक सवारी उत्पादक ब्रान्ड हो ।
मियामा
जापानी कम्पनी मियाची मोटर्सले चीनमा उत्पादन गर्ने यी स्कुटर ५ वटा मोडलमा उपलब्ध छन् । त्यसमध्ये पहिलो हो, एसडी वान । १ हजार ५ सय वाट क्षमताको एसडी वानको मूल्य १ लाख ४९ हजार रुपैयाँ छ । त्यसैगरी एलवाई वानको मूल्य १ लाख ६५ हजार रुपैयाँ राखिएको छ । मियामाको अर्को मोडल हो– सिजे वाई । यसको मूल्य १ लाख ६४ हजार रुपैयाँ छ । जेवाई वान मियाचीको अर्को विद्युतीय मोडल हो । यसको मूल्य १ लाख ६८ हजार रुपैयाँ छ । टिएन ६ को मूल्य १ लाख ९६ हजार अंकित गरिएको छ । यीमध्ये अघिल्ला चार वटा स्कुटरलाई ४ देखि ६ घण्टामा फुल चार्ज गरेपछि १ सय किलोमिटरसम्म कुदाउन सकिन्छ भने टीएन ६ लाई २ सय किलोमिटर सम्म कुदाउन सकिन्छ ।