बेलैमा यौन तथा प्रजनन शिक्षा

- पदमराज जोशी

भाद्र ११, २०७६

 

कुनै बेला थियो, माध्यमिक तह तथा कलेजाको कक्षाकोठामा यौन र प्रजननका कुरा उठ्नासाथ विद्यार्थीले मुख छोप्नेमात्र होइन, शिक्षकहरूकै पनि अनुहार रातो हुन्थ्यो । पाठ्यपुस्तकमा यौनसँग सम्बन्धित विषयवस्तु भए शिक्षक यो पाठ तिमीहरू आफैं पढ्नु भन्दै अर्को पाठतिर जम्प गर्थे । विद्यार्थीहरू पनि लजाउँदै भन्थे, हुन्छ सर । यद्यपि अब ती दिन रहेनन् । सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण भेगका विद्यालयहरूमा समेत यौन तथा प्रजनन विषयका शिक्षक र विद्यार्थीबीच खुला छलफल एवं बहस हुन थालेको छ अहिले । समाजमा पनि यो विषयमा बहस चल्न थालेको छ । यौनका समस्या अब पहिलेको जस्तो बोल्नै नसक्ने लाजको विषय रहेन । यौन लाजले छोप्ने वा लुकाउने रहस्यको पोकोभन्दा पनि सहज रूपमा संवाद गर्ने खुला विषय बन्न थालेको छ । यौन शिक्षाका कारण यौन तथा प्रजननप्रतिको निषेधको मनोविज्ञान क्रमशः सकारात्मक बन्दै छ । 

स्कुल अध्ययनरत किशोरकिशोरीले पनि यसलाई सहज रूपमा ग्रहण गर्न थालेका छन् । अहिले निजी स्कुलका विद्यार्थीमात्र नभएर सरकारी स्कुलका किशोरकिशोरी तथा शिक्षकहरू यौनका विषयमा कुनै संकोच मान्दैनन् । सत्य–तथ्य जानकारी लिन्छन् । इन्टरनेटको सहज पहुँचका कारण पनि छात्रछात्राहरू कतिपय स्कुलका यौन तथा प्रजनन स्वास्थ्यका केही कुरामा शिक्षकभन्दा अगाडि छन् । सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीमात्र नभएरस्वास्थ्य शिक्षा पढाउने अधिकांश शिक्षक पढाउदा संकोच मान्ने एउटै कारण हो, स्वास्थ्यमा समावेश यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समेटिएको विषयवस्तु ।

स्कुल शिक्षामा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तकहरू जस्तै स्वास्थ्य, जनसंख्या, वातावरण, समाजिक शिक्षा, विज्ञान आदिमा कुनै न कुनै रुपमा जिवनउपयोगी यौन तथा प्रजनन स्वास्थ्यका कुरा समावेश गरिएको छ । यी विषयमा महिला एवं पुरुषका प्रजनन अंगहरू, सुरक्षित यौनसम्पर्क, किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन, प्रजनन प्रक्रिया, एचआईभी, एड्स, स्वप्नदोष, रजश्वला, गर्भपतनलगायतका विषयवस्तु समावेश छ । यिनै विषयवस्तुमा लजाउने शिक्षक अहिले निःसंकोच पढाउन थालेका छन् । 

शिक्षकको एकल प्रयासले मात्र नभएर विद्यार्थी र समाजको ज्ञानको दायरा फराकिलो हुँदै गएपछि यी विषय पढाउन सहज हुँदै गएको शिक्षकहरू बताउँछन् । कक्षाकोठामा पढाइएको विषयवस्तु अपुग भएपछि किशोरकिशोरीहरूले थुप्रै ठाउमा यौन शिक्षासम्बन्धी आवश्यक जानकारी गराउन युवा सूचना केन्द्र स्थापना गरेका छन् । त्यस्ता सूचना केन्द्रमा यौन स्वास्थ्यका विषयमा निःसंकोच छलफल चलाएर समस्याको समाधान खोजिन्छ । किशोरकिशोरीबाट अभिभावकहरूले समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा जानकारी पाउन थालेका छन् ।

देशका कैयौं ठाउँका किशोरकिशोरीले यौन शिक्षाका साथै विवाह गर्ने उमेरका विषयमा सही सूचना प्रवाह गर्दै बाल विवाह रोक्ने अभियान चलाएका छन् । फलस्वरुप गाउँमा बालविवाह गर्ने क्रम घट्दो छ । सिन्धुपाल्चोक टेकानपुरका लक्ष्मण भट्टराई भन्छन्, ‘पहिले–पहिले २० वर्ष पार गरेका अविवाहित केटी फेला पार्नै सकिँदैनथ्यो, जसका कारण अधिकांश महिलाले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्नु पर्थ्यो भने अहिले अधिकांश छोरीको विवाह २० वर्ष कटेपछि मात्र हुन थालेको छ ।’ सरकारले पनि बाल विवाह रोक्न कानूनमा परिमार्जन गरेर विवाह गर्ने उमेर २० वर्ष कायम गरेको छ । 

पछिल्ला केही वर्षयता इन्टरनेटको पहुँच बढ्दै गएपछि यौन तथा प्रजनन स्वास्थ्यका विषयमाथि विद्यालयमा पनि खुल्ला छलफल हुन थालेको शिक्षकहरू बताउँछन् । अधिकांश विद्यार्थीले यो विषयमा आवश्यक सूचना इन्टरनेटबाट पाइसक्ने हुनाले पनि शिक्षकलाई विषयवस्तु पढाउन सहज छ । स्वास्थ्य विषय पढाउने सरकारी स्कुलका अधिकांश शिक्षकले विशेष तालिम लिएका हुन्छन् । पहिले स्कुलमा पाठ्यपुस्तकबाहेक यस विषयमा पढ्न र जान्न खोज्नेका लागि कुनै पाठ्यसामग्री थिएन । अहिले परिवार नियोजन संघको सहयोगमा सरकारी स्कुलमा सन्दर्भ सामग्रीका रूपमा पाठ्यपुस्तक उपलब्ध छन् । यी पाठ्यसामग्रीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी दिइएको छ । अधिकांश विद्यालयमा इन्टरनेटको सुविधा छ, जसका कारण यो विषय सहज बन्दै गएको शिक्षकहरू बताउँछन् । गाउँ–गाउँमा स्थापना भएका आमा समूहहरूले पनि यौन शिक्षालाई व्यवहारिक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । आमा समूहका नियमित बैठकमा महिला बेचबिखन, बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुल्ला छलफल हुने गरेको छ । जसका कारण यो विषय अब विस्तारै सहज बन्दै गएको छ । अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका जीवनोपयोगी पक्ष पाठ्यक्रममा समावेश गर्नुपर्नेमा विज्ञहरू एकमत छन् । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सही सूचना नपाउँदा र पाएको सूचनाको पनि सदुपयोग गर्न नसक्दा अहिले पनि असुरक्षित गर्भपतन गराउने प्रवृति पूर्ण रूपमा रोक्न सकिएको छैन् । 

हरेक आमा बुबाले आफ्ना छोराछोरीलाई दैनिक जीवनमा आईपर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनाकारी दिन लाज मान्नु हुँदैन । किनभने सही जानकारीको अभावमा उनीहरू ठूलो संक्रमणको दलदलमा फसेका उदाहरण समाजमा थुप्रै छन् । यसमा पनि विशेष गरि एउटी आमाले किशोरी हुन थालेकी छोरीलाई उसमा आउन लागेको शारीरिक परिवर्तन, मानसिक परिवर्तन, रजस्वलाजस्ता विषयमा बेलैमा सही परामर्श नदिने हो भने त्यसले अकल्पनीय घटनासम्म घटाउन सक्छ । यौन तथा प्रजनन शिक्षाको सही ज्ञान नहुँदा अहिले कैयौं किशोरी यौन सम्पर्क गर्दा परिवार नियोजनको साधन प्रयोग नगर्ने तथा असुरक्षित यौन सम्पर्कका कारण अनिश्चित गर्भाधारण गर्ने अनि त्यसपछि पटक–पटक गर्भपतन गराउने प्रवृत्ति देशैभरि बढिरहेको पाइएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । चिकित्सकहरूका अनुसार यसले महिलाको पाठेघर बिग्रने, सक्रमण हुने, तल्लो पेट दुख्ने, बाँझोपनको समस्या सृजना हुने, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या आउने जस्तै दर्जनौं समस्याले शरीरमा डेरा जमाउन सक्छ । 

यौन तथा प्रजनन स्वास्थ्यका विषयप्रतिको संकोच घट्दै गएपछि यसको सकारात्मक परिणामसमेत देखिन थालेको छ । कलिलै उमेरमा विवाह गर्ने, बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, बीचमै पढाइ छोड्ने, घरेलु हिंसा हुने तथा मातृ मृत्यु र बाल मृत्युदर बढ्ने कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको सही जानकारी नहुनु भएकाले बेलैमा यससम्बन्धी जानकारीले धेरैजसो समस्या समाधान भएर जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पुष्पा चौधरी बताउँछिन् । नेपालमा पछिल्ला वर्ष एचआईभी संक्रमण दर घट्दै जानुको प्रमुख कारणमध्येको एउटा कारण यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको पहुँच भएको डा. चौधरीको ठम्याइ छ ।

प्रकाशित :भाद्र ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×