स्किन डिहाइड्रेट
तीजको व्रतको अघिल्लो दिन दर खाने चलन छ, जसमा मिठाई, खीर तथा चिल्लो–पिरा परिकार समावेश हुन्छन् । त्यसको लगत्तै भोलिपल्ट निराहार व्रत बसिन्छ जसको असर हाम्रो स्वास्थ्यमा पर्छ । जस्तोः ग्यास्ट्रिक हुने वा शरीरमा पानीको मात्रा कम हुने । यसले टाउको दुख्ने, रिँगटा लाग्ने आदि हुन्छ भने यसको असर अनुहारमा समेत देखा पर्छ । यति बेला अनुहारको छाला सुक्खा हुने, मसिना विमिरा आउने, अनुहार नीलो–कालो हुँदै जाने समस्या देखापर्न सक्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनु स्वास्थ्यका दृष्टिले अति आवश्यक छ । यसका साथै तीजको दिनको मेकअप भन्दा पहिले अलिकति स्किन केयरमा पनि ध्यान दिँदा अनुहार चम्किलो एवं ताजा देखिन्छ अनि छालाको राम्रो स्याहार पनि हुन्छ । स्किन केयरमा अलिकति मात्र ध्यान दिँदा पनि आफ्नो अनुहारको छालालाई डिहाइड्रेड हुनबाट जोगाउन सकिन्छ ।
स्किन केयर
छालालाई सुक्खा हुन नदिन तथा यसलार्ई ताजा अनि चम्किलो बनाई मेकअप लामो समयसम्म टिकाउन यसको नियमित हेरचाह गर्नुपर्छ ।
१. पर्याप्त मात्रामा पानी पिउने ।
२. आफ्नो छालाको प्रकारअनुसार फेसवास प्रयोग गर्ने ।
३. बजारमा सजिलै पाइने हाइड्रेट सिट मास्क लगाएर १५ मिनेटपछि हटाउने ।
४. सिट मास्क छैन भने घरमै घिउकुमारीको जेलमा काँक्राको रस मिसाइएको फेस प्याक लगाउने र १५ मिनेटपछि पखाल्ने ।
५. आफ्नो अनुहारलाई सुहाउने वा दैनिक प्रयोग गरिने टोनर अनुहारमा लगाउने ।
६. आइस क्युबलाई मलमलको कपडाले बेरेर वा सिधै अनुहारमा दल्ने जसले अनुहारमा रहेका स–साना रौ छिद्रहरू बन्द गरी पसिना कम आउने बनाउँछ । तीजका लागि फेसियल क्लिनजिङ गराउन चाहन हो भने ३ दिन अघि नै गराउनुपर्छर् ।
तीजका लागि विशेष मेकअप
तीज भन्नेबित्तिकै रातो हरियो अथवा उज्यालो रङ्गको बाहुल्यता देखिन्छ । रातो र हरियो रङ्ग सौभाग्यको रङ्ग भएकाले पनि तीजको दिन महिलाहरू रातो तथा हरियो रङ्गका पहिरन, चुरा–धागो आदिमा सजिन रुचाउँछन् । तीजको दिन मन्दिरमा लाइन बसेर भगवान शिवको दर्शन गर्ने र साथीसङ्गीहरूसँग नाचगान गर्दा पसिना आए पनि नबिग्रिने किसिमको मेकअप गर्नुपर्छ ।
मेकअप गर्ने तरिका र रंगहरूको छनोट
आफ्नो अनुहारमा राम्रोसँग मोइस्चराइजर लगाउने । त्यसपछि सनस्क्रिन म्याट प्राइमर लगाएर केही समय सुक्न दिने । यसको माथि ब्रस वा पफले हल्कासँग लुज पाउडर लगाउने । अब माथिबाट अनुहारका सबै भागमा पर्ने गरी सेटिङ स्प्रे प्रयोग गर्ने । त्यसपछि अनुहारको प्रकार अनुसार फूल कभरेज वा थोरै मिडियम फाउन्डेसन अनुहारको सबै भागमा लगाउने र आँखाको वरपर केही कालो भाग जस्तो छ भने कलर करेक्सन वा कन्सुलरले छोप्ने । अनुहारको आकार अनुसार र केशको रङ्गसँग सक्दो मेल हुने गरी आइब्रो बनाउने र आइब्रोलाई सेटिङ जेलले सेट गर्ने । आँखालाई चम्किलो र आकर्षक बनाउन पहिले हल्का खैरो रङ्ग लगाई सुनौलो रङ्ग टल्किने आइब्रो औंलाले लगाउने । त्यसपछि वाटरप्रुफ आइलाइनर लगाएर आँखाको तल पेन्सिल लाइनर लगाउने । यदि आँखामा गाजल सुहाउँदैन भने नलगाउँदा पनि हुन्छ । त्यसपछि आँखामा लगाइएको गाजल नबिग्रियोस् भनेर पाउडरले सेट गर्ने । अन्तिममा वाटरप्रुफ मस्कारा लगाएर आँखाको मेकअप सम्पन्न गर्ने । त्यसपछि गाला, नाकको शेप तथा डब्बल चीन कम गर्न हल्का ब्राउन कलरले कन्टोर गर्ने । यो अनुहारको शेप अनुसार फरक–फरक हुन्छ । गालालाई भरिलो देखाउन हल्का आरू रङ्गको ब्लस लगाउने । लिपिस्टिक छनोट गर्दा म्याट नै छनौट गर्नु उपयुक्त हुन्छ ।
मेकअप सकिएपछि अनुहारको सबै भागमा पर्ने गरी सेटिङ स्प्रे गर्ने र अन्तमा सुनौलो रङ्गको हाइलाइटले गालाको उठेको भाग, नाकको उठेको भाग, ओठको माथिल्लो भाग तथा आइब्रोको तल्लो भागमा लगाउने । यसले गर्दा अनुहारमा छुट्टै प्रकारको चमक आउँछ । अन्त्यमा लिपिस्टिकको रङ्ग वा आफ्नो पहिरनलाई मिल्ने गरी उज्यालो टीका लगाउने ।