साप्ताहिक संवाददाता
अघिल्लो वर्षको दसैंदेखि निर्माताद्वय दीपकराज गिरी तथा अशोक शर्माबीच अदृश्य अन्तरद्वन्द्व चलिरहेको छ । दीपकराजको छक्का पञ्जा–३ तथा शर्माको जय भोले गत वर्ष दसैंमा प्रदर्शन भएका थिए, व्यवसायिक रूपमा छक्का पञ्जाले जय भोलेलाई पछि पारेको थियो ।
यसपटकको दसैंमा पनि उनीहरू नै भिँड्दै छन्, आ–आफ्ना नयाँ चलचित्रमार्फत । निर्माता–निर्देशक शर्माले चलचित्र ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति तय गरिसकेका छन् । यो चलचित्र घटस्थापनाको दुई दिनअघि अर्थात असोज १० गतेदेखि प्रदर्शनमा आउँदैछ । उता, दीपकराज गिरीले ‘छ माया छपक्कै’ लाई पनि दसैंमै प्रदर्शन गर्दैछन् ।
यो त भयो यो वर्षको दसैंको प्रतिस्पर्धा अर्को वर्ष अर्थात २०७७ सालको दसैंमा भने शर्मा र गिरीसँगै अर्को एउटा ठूलो ब्यानरसमेत प्रतिस्पर्धामा आउने निश्चित भएको छ । निर्माता सुनिलकुमार थापाले चलचित्र ‘ए मेरो हजुर–४’ को प्रदर्शन अर्को वर्षको दसैंमै गर्ने घोषणा गरेपछि आगामी वर्षको दसैंमा तीन चलचित्रबीच प्रतिस्पर्धा हुने अनुमान गरिन्छ ।