हिरो बन्ने चाहना 

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७६

यतिबेला चलचित्र ‘जाइरा’ मा नम्रता श्रेष्ठको फाइटर लुक्सको चर्चा भैरहेको छ भने अर्कोतिर कलाकार प्रमोद अग्रहरिको गेटअप र भूमिकाको चर्चा भैरहेको छ । चलचित्रमा अभिनेताकै भूमिका निर्वाह गर्न रजतपटमा आएका कलाकार हुन्– प्रमोद अग्रहरी ।

अभिनय गरेका झन्डै दुई दर्जन चलचित्रमा उनले खलनायककै चरित्र निर्वाह गरिरहेका छन्, जसलाई दर्शकले उत्तिकै मन पराएका छन् । सुरु–सुरुमा उनलाई तराईमूलको व्यक्तिका रूपमा प्रस्तुत गरिन्थ्यो, तर चलचित्र कथा काठमाडौंमा अभिनेत्री प्रियंका कार्कीसँगको चुम्बनसहितको अन्तरंग दृश्य चर्चामा आएपछि उनलाई तराईमूलको चरिक्र निर्वाह गर्ने ट्यागबाट मुत्ति मिलेको छ ।

प्रमोद अचेल चकलेटी खलनायकको भूमिकाका लागि निर्देशकको रोजाइमा परेका छन् । अधिकांश चलचित्रमा चुम्बन तथा अन्तरंग दृश्य निर्वाह गर्न थालेपछि कतिपयले उनलाई नेपाली इमरान हासमी समेत भने । स्वयं प्रमोद भने आफूलाई आफ्नै नामबाट सम्बोधन गर्न आग्रह गर्छन् । चलचित्र जाइरामा त प्रमोदले चुम्बन, अन्तरंग दृश्यदेखि महिला पात्रलाई बलात्कार गरेका सम्मका दृश्यमा अभिनय गरेका छन् ।

हालैको एउटा भेटमा प्रमोद भन्दै थिए— त्यस्तो भूमिका निर्वाह गर्नु पर्दा मलाई कुनै पश्चाताप भने छैन । त्यसो त प्रमोदलाई मुख्य अभिनेताका रूपमा काम गर्ने तीव्र इच्छा छ । यद्यपि, उनलाई मुख्य अभिनेताका रूपमा हालसम्म कसैले पनि प्रस्ताव राखिसकेका छैनन् ।

प्रकाशित :भाद्र १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्