साप्ताहिक संवाददाता
एउटा नेपाली गीतको म्युजिक भिडियो यो साता युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । गायक सुशान्त केसीको स्वरको ‘साथी...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई गायक केसीले आफ्नै नामको युट्युब च्यानलबाट गत शनिबार अपलोड गरेका थिए ।
अपलोड भएको केही समयपछि नै युट्युब ट्रेन्डिङमा पर्न सफल उक्त भिडियो करिब दुई दिनसम्म ट्रेन्डिङको दोस्रो स्थानमा रहेर बुधवारदेखि पहिलो नम्बरमा उक्लिन सफल भएको हो । तडक–भडकरहित तथा सानो परिवेशमा छायांकन गरिएको उक्त भिडियोका निर्देशक अमर न्यौपाने हुन् ।
भिडियोमा कुन्दन शाक्य तथा सुशान्त केसीले अभिनय गरेका छन् । बुधवारसम्म ६ लाख ७० हजार पटक हेरिएको उक्त भिडियोले युट्युबमा ४६ हजार लाइक पाएको छ भने ४ सय डिसलाइक । भिडियोले झन्डै २७ सय वटा प्रतिक्रिया प्राप्त गरेको छ । तीमध्ये अधिकांश प्रतिक्रियामा गीतको शब्द, गायकको स्वर तथा भिडियोको प्रशंसा गरिएको छ ।