साप्ताहिक संवाददाता
एक समयमा नेपाल टेलिभिजनमा पारिवारिक टेलिशृंखलाको चाप राम्रै थियो । त्यस्ता शृंखलामा दर्शकको चासो निकै देखिन्थ्यो, तर टेलिभिजनमा कमेडी टेलिशृंखलाको प्रवेश पछि पारिवारिक शृंखला सुस्तायो । एकपछि अर्को कमेडी शृंखलाको आगमनले दर्शकको ध्यान पारिवारिक भन्दा कमेडीतर्फ जान थाल्यो ।
नेपालको पुरानो टेलिभिजन च्यानल नेपाल टेलिभिजनमा ट्वाक्क टुक्क, तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल, झ्यानाकुटी झ्याइँ आदि शृंखला प्रसारण हुन थालेपछि पारिवारिक शृंखला विस्थापितझैं भए ।
नेपाल टेलिभिजनकी कार्यक्रम प्रमुख आरती चटौतका अनुसार दर्शकमाझ कमेडी विधाका शृंखलाप्रतिको रुचि बढी पाइन्छ । ‘गत वर्ष कमेडी शृंखला भद्रगोलको टीआरपी सर्वाधिक थियो । हाम्रो टेलिभिजनमा पारिवारिक शृंखला प्रसारण नभएका होइनन्, तर अधिकांश दर्शकले ती पारिवारिक शृंखला मन पराएनन् । उनीहरूले पारिवारिक शृंखला भारतीय फ्लेभरको भएको भन्दै गुनासो गरे’, चटौत भन्छिन्, ‘यता कमेडी शृंखलामा नेपालीपन, भूगोलका साथै स्थानीय परिवेश समावेश हुने भएकाले पनि यही विधामा उनीहरूको चासो बढ्यो ।’
चटौतले नयाँ आर्थिक वर्षका साथै मागिएको टेन्डरमा कमेडी जनराकै शृंखलाको माग बढी भएको बताइन् । ‘कमेडी जनरामा दर्शकको चासो बढी देखिएकाले नेपाल टेलिभिजनले पनि कमेडी फ्लेबरकै शृंखला वा कार्यक्रम बनाउने योजना बनाइरहेको छ’, चटौत भन्छिन् ।
नेपाल टेलिभिजनमा कमेडी शृंखला लोकप्रिय भए पनि रमाइलो टिभीमा चाहिँ पारिवारिक शृंखला हेर्ने दर्शक बढी छन् । टिभीका कार्यक्रम संयोजक विकास लामिछाने भन्छन्— रमाइलो टिभीमा तितोपिरो, माइकल ज्याक्सन, शेरेले हँसाउँछ, एकादेशको चुरीफुरी, रोऊँ कि हाँसूँ जस्ता हास्य शृंखला प्रसारण हुन्छन् । ‘हाम्रो टिभीमा कमेडी भन्दा पनि पारिवारिक शृंखला मन पराउने दर्शकको संख्या बढी छ । कमेडी शृंखलाको मेकिङप्रति दर्शकहरूको गुनासो छ ।
क्यामेरा हल्लिने, कलाकारको अभिनयलगायतका विषयमा बढी गुनासो सुनिन्छ’, लामिछाने भन्छन्, ‘नेपाली पारिवारिक शृंखलाभन्दा पनि भारतीय शृंखला गाउँघरमा अत्यधिक लोकप्रिय छन् । यहाँबाट प्रसारण हुने नेपाली शृंखला दृष्टि र भाग्य आफ्नोको दोस्रो संस्करणलाई दर्शकले जति मनपराएका छन् त्यो भन्दा बढी भारतीय शृंखला आनन्दी र जडौरी मन पराएका छन् । यी शृंखला डिस होम जोडिएका गाउँमा सर्वाधिक लोकप्रिय छन् ।’
टेलिशृंखलाको कुरा गर्दा नेपालका टेलिभिजनमा रिसानी माफ, हर्के हवल्दार, डिट्ठा सा’ब, ट्वाक्कटुक्क पनि रुचाइएका टेलिशृंखलामा पर्छन् । हास्य शृंखलामा सक्रिय कलाकारहरूले निर्माण गरेका चलचित्रले व्यावसायिक सफलता पाइरहँदा टेलिभिजन तथा युट्युबमा भने दर्शकले नयाँ पुस्ताका कमेडियनहरूको शृंखला बढी रुचाइरहेका छन् ।