साप्ताहिक संवाददाता
बजार विस्तार र भाषिक प्रेम जागृत भएसँगै नेपालीबाहेक अन्य भाषाका चलचित्र पनि बन्ने क्रम बढेको छ । तामाङ चलचित्रकर्मी पनि चलचित्र निर्माणमा सक्रिय हुन थालेका छन् । जसले आफ्नै भाषामा आफ्नै परिवेशको कथा भन्दैछन् । यसकै पछिल्लो कडी हो, चलचित्र ‘तिङला पुजु’ । जसको अर्थ हुन्छ, मुटुको काँडा । नीमा लामाको निर्देशन रहेको यो चलचित्र हाल काठमाडौंको जोरपाटीमा सुटिङ भइरहेको छ । जोरपाटीपछि मकवानपुरको विभिन्न स्थानमा चलचित्र खिचिने नीमाले जानकारी दिए ।
तामाङ चलचित्रमा चिनिएको नाम हो, नीमा । उनले ए सोल्टी, बज्र लगाएत एक दर्जन चलचित्र निर्माण गरिसकेका छन् । ‘तिङला पुजु’ सामाजिक तथा पारिवारिक कथामा आधारित हुने उनले जानकारी थिए, जहाँ लभस्टोरी पनि हुनेछ । नीमा भन्छन्, “आफ्नो समूदायको कथाव्यथा पस्कन र तामाङ भाषा जोगाउनका लागि पनि चलचित्रको भूमिका हुन्छ ।” पहिले तामाङ चलचित्रहरुको हल भाडामा लिएर स्पेशल शो मात्र गरिख्न्थ्यो, गाउँघरतिर प्रोजेक्टरमा देखाइन्थ्यो । अब भने बिस्तारै सिनेमा हलमा नियमित प्रदर्शन हुन थालेका छन् ।
‘तिङला पुजु’लाई स्पेशल शोका अलवा हलमा रिलिज गर्ने निर्माता कमल रुम्बाले जानकारी दिए । यस चलचित्रको बजेट ३५ लाख रुपियाँ हुनेछ । जसमा रोशन थिङ, जय स्याङतान, नीमा छिरिङ डोल्मो बल, मेनुका बल, केबी मोक्तान, प्रदीप लामालगाएतका कलाकारको अभिनय छ । निर्माता कमलका अनुसार स्तरिय फिल्म बनेसँगै तामाङ भाषीमाझ फिल्मको डिमान्ड बढिरहेको छ ।