अपराधमा  चाइनिज ग्याग्ङ

- जनकराज सापकोटा

भाद्र ३१, २०७६

 

भदौ १६     :    एटिएम ह्याकिङमा संलग्न ५ चिनियाँ पक्राउ । 

भदौ १४     :    मानव तस्करी गरेको आरोपमा चार चिनियाँ पक्राउ । 

साउन २०    :    एक किलो सुनसहित विमानस्थलबाट एक चिनियाँ पक्राउ । 

चैत २८     :    मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित तीन चिनियाँ पक्राउ । 

माथि उल्लेखित घटनाले नेपालमा हुने अपराधमा चिनियाँहरूको बढ्दो उपस्थितिलाई मात्र देखाउँदैन, अपराधको संसारमा चिनियाँहरूको उपस्थिति दोहोरिरहने घटना हो भन्ने समेत देखाउँछ । 

हिमाली क्षेत्रको बहुमूल्य जडीबुटी तथा वन्यजन्तु तस्करीमा चिनियाँहरूको फाट्टफुट्ट उपस्थिति पछिल्ला वर्षहरूमा बदलिएर संगठित सुन तस्करी, अवैध डलर तस्करी, मानव तस्करी तथा फाइनान्सियल क्राइममा परिवर्तन हुँदै गएको छ । विवाहको नाममा नेपाली चेलीहरूको मानव तस्करी गरेको अभियोगमा समेत चिनियाँहरू पक्राउ परेको घटना सार्वजनिक भएपछि अपराधको चिनियाँ शैली नेपालका निम्ति टाउको दुखाइ बन्दै गएको छ । 

साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङ ज पक्राउ परे । हङकङबाट १०:५० को फ्लाइटमा काठमाडौं ओर्लिएका लीले बोकेको ब्यागभित्र कपडाको बेल्टभित्र चारवटा बिस्कुट आकारको सुन थियो, जसको तौल ठ्याक्कै एक किलो थियो । अवैध सुन ओसार–पसारको घटनामा चिनियाँहरूको संग्लनता खुलेको यो न पहिलो घटना हो न अन्तिम नै । 

चैत २८ गते चीनको कुनमिङ हुँदै काठमाडौं आएका दुई चिनियाँ विमानस्थल भन्सारमै पक्राउ परे । एक्सरे मेसिन हुँदै बाहिरिने क्रममा उनीहरूको मलद्वार छेउको भागमा अनौठो आकृति देखिएपछि प्रहरीले थप केरकार गरेको थियो । प्रारम्भिक बयानमा केही नबताएपछि प्रहरी एक्सरे तस्बिरका आधारमा उनीहरूले अवैध वस्तु मलद्वारभित्र लुकाएर ल्याएको निष्कर्षमा पुगेको थियो । लगत्तै प्रहरीले सिनामंगलको एक अस्पतालमा लगेर उनीहरूलाई पखाला चलाउने औषधि खुवाएर दिसा गराएको थियो । तीनै जनाले दिशासँगै गह्रौं बस्तु निकालेपछि पुष्टि भयो, उनीहरूले साढे तीन किलो सुन मलद्वारभित्र लुकाएर नेपाल भित्र्याउन खोजेका थिए ।

भूकम्पअघि सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै अवैध सुन भित्रिने क्रम उक्त नाका बन्द भएपछि रसुवाको केरुङ नाकातर्फ सोझिएको थियो । स्थल नाकाका अतिरिक्त चिनियाँहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पनि अवैध रूपमा सुन भित्र्याइरहेको देखिन्छ । विमानस्थलका एक सुरक्षा अधिकारी भन्छन्, ‘पछिल्ला घटनाहरूबाट चिनियाँहरूले अनेकन तवरबाट सुन भित्र्याउने प्रयास निरन्तर जारी राखेको पाइन्छ ।’

विगतमा ठूलो परिमाणमा भएका संगठित सुन तस्करीमा चिनियाँहरूको उल्लेख्य उपस्थिति रहेको घटनाक्रमहरूले देखाउँछ । हवाईमार्ग हुँदै गरिने सुन तस्करीका अतिरिक्त रसुवाको केरुङ नाका हुँदै गरिने सुन तस्करीका कैंयन घटनामा पनि चिनियाँहरूको संलग्नता देखिन्छ । २०७४ भदौ १९ गते महानगरीय प्रहरी अपराध महाशाखाले क्षेत्रपाटीस्थित एक होटल बाहिर रोकी राखेको गाडीभित्र फल्स बटम बनाएर लुकाइएको ८८ किलो अवैध सुन बरामद गर्‍यो । केरुङ नाका हुँदै काठमाडौं भित्रिएको उक्त सुन ठमेलमै होटल सञ्चालन गरेर बसेका चिनियाँ नागरिक वान विई मिङको रहेको भन्दै प्रहरीले उनको खोजी गरेको थियो, तर मिङ प्रहरीलाई छक्याउँदै काठमाडौंबाट भाग्न सफल भए । 

चिनियाँहरूको संलग्नता सुनको अवैध धन्दामा मात्र छैन । सूचना र प्रविधिमा अब्बल चिनियाँहरू यही प्रविधिको दुरुपयोग गर्दै बैंकिङ कसुरका घटनामा समेत संलग्न भएको पाइन्छ । भदौ १६ गते काठमाडौंबाट पक्राउ परेका ५ जना चिनियाँ त्यसको पछिल्लो उदाहरण हुन् । प्रहरी परिसर काठमाडौंले ९ विभिन्न बैंकको एटिएम प्रणाली नै ह्याक गरेर अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा बढी रकम चोरी गर्ने काममा संलग्न ५ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । प्रहरीले एक जनालाई दरबारमार्गबाट र तीन जनालाई हात्तीसारको माया मनोहर बुटिक होटलबाट तथा थप एक जनालाई विमानस्थलबाट पक्राउ गरेको थियो । बैंकिक ठगीको यो घटनामा देखिएको चिनियाँ संलग्नताले प्रहरीलाई त झस्काएको छ नै राष्ट्र बैंकका अधिकारीहरूलाई समेत चकित तुल्याएको छ । प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यसअघिका एटिएम ह्याकिङको तुलनामा पछिल्लो ठगी नौलो र अत्याधुनिक भएको बताए । बोगटीले बैंकिक प्रणाली नै ह्याक गरेर गरिएको ठगीको घटना नेपालका निम्ति नयाँ भएको बताउँदै भने, ‘उनीहरूले अत्याधुनिक प्रविधि प्रयोग गरेर सिस्टमलाई नै बाईपास गरेर रकम निकालेको देखियो ।’

एटिएम ह्याक गरिएको घटनामा चिनियाँ नागरिकहरू पक्राउ भएको दुई दिनअघि प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले ४ चिनियाँसहित ६ नेपालीलाई पक्राउ गरेको थियो । उक्त घटना भने नेपालमा भए गरेका अपराधमा चिनियाँहरूको विगतको संलग्नताभन्दा फरक खालको थियो । पक्राउ परेका चिनियाँमध्ये जंग सियाङ दोङ तथा जाङ दोङ एजेन्ट हुन भने छुवान झान फंग र छिन लियाङ नेपाली केटी बिहे गर्ने भन्दै नेपाल आएका थिए । चार वर्षअघि चिनियाँ केटासँग बिहे गरेर चीन पसेकी नेपाली महिला बीबी रानी भनिने रिना तामाङको सहयोगमा उनीहरू नेपाल आएका थिए । उनीहरूले योजनाअनुसार केटी खोजे, कानुनी प्रक्रिया पुर्‍याएर कोर्ट म्यारिज पनि गरे तर चीन उडने दिन प्रहरीको फन्दामा परे । 

कानुनी रूपमा छुवान झान फंग र छिन लियाङले नेपाली केटी बिहे गरेर चीन लैजान आँटे पनि ब्युरोले यसलाई मानव तस्करीकै नयाँ स्वरूपका रूपमा अथ्र्याएको छ । प्रहरीका अनुसार दस लाख रुपैयाँ पाउने सर्तमा बीबी रानीले रोज तामाङसहितका अन्य चार एजेन्टलाई केटी खोज्ने काममा सक्रिय गराएकी थिइन् । ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले नेपाल आएको केही दिनमै बिहे गर्नु, केटाकेटीबीच भाषाका कारण सामान्य कुराकानी पनि हुन नसक्नु र एजेन्टमार्फत केटी खोज्नुजस्ता कारणले कानुनी रूपमा विवाह भएपनि यसलाई मानव तस्करीकै रूपमा बुझ्नुपर्ने बताए । प्रहरीले पक्राउ परेका चिनियाँसहित सबैका विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्र्तगत मुद्दा चलाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका जंग सियाङ दोङ लामो समयदेखि ठमेललाई केन्द्र बनाएर कारोबारमा सक्रिय थिए । आफूलाई बुद्धचित्तको कारोवारी बताए पनि जंगको गोप्य धन्दा चिनियाँका निम्ति नेपाली केटी खोजिदिने र बिहे गराइदिने थियो । केटा–केटीबीचको जनसंख्याको असन्तुलन तथा विवाहको खर्चिलो परम्पराका कारण चिनियाँहरू भियतनाम, कम्बोडिया तथा नेपालजस्ता देशमा विवाह गर्न चाहन्छन् । यस्तो विवाहलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले ‘ब्राइडल ट्राफिकिङ’का रूपमा अथ्र्याएका छन् । प्रहरीका अनुसार यसरी विवाह गरेर चीन पुगेकामध्ये धेरैजसो नेपाली मानसिक एवं शारीरिक यातनाका अतिरिक्त यौन शोषणमा पर्ने गरेको बताइएको छ । 

चिनियाँहरू अपराधका अनेकन आयाममा जोडिएका देखिन्छन् । जस्तो कि, विदेशी मुद्राको अवैध तस्करी । २०७३ माघ १ गते महानगरीय प्रहरी अपराध महाशाखाले थानकोट हुँदै केरुङ जान लागेको एउटा गाडी नियन्त्रणमा लियो । उक्त गाडीमा सवार थिए, ५० वर्षीय चिनियाँ नागरिक मिङ जाङ । पक्राउ परेका मिङबाट प्रहरीले झन्डै ३५ हजार अमेरिकी डलर, ३ लाख २७ हजार कोरियन वन तथा १ हजार ८५ हजार पाउन्ड स्टर्लिङ बरामद गरेको थियो । अपराध महाशाखाले मिङलाई पक्राउ गरेको ९ महिनापछि अर्थात् ५ असोज २०७४ मा केरुङ नाकामा खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक ४७ वर्षीय दिल लिवानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो । विदेशी मुद्राको अवैध ओसारपसारका घटनामा चिनियाँहरू पक्राउ परेका घटना बग्रेल्ती छन्, जसले चिनियाँहरू अवैध विदेशी मुद्राको कारोवारमा सक्रिय छन् भन्ने मात्र बुझाउँदैन, नेपालको कमजोर कानुन र प्रहरीको आँखा छल्दै कसरी चिनियाँहरू अपराध कर्ममा संलग्न छन् भन्ने पनि देखाउँछ । 

हिमाली भेगका बहुमूल्य जडीबुटी अवैध रूपमा तिब्बत छिराउने र हवाई मार्ग हुँदै अन्य देशमा अवैध रूपमा पठाउने काममा पनि चिनियाँहरूको संग्लनता पाइन्छ । २०७४ असारमा प्रहरीले ठमेलबाट ५० किलो बुद्धचित्त सहित विई वाङलाई पक्राउ गर्‍यो । अहिले पर्सामा एसपी रहेका सोमेन्द्र सिंह राठौर त्यतिबेला लैनचौर बृत्तमा डिएसपीका रूपमा कार्यरत थिए ।

चिनियाँहरूको अपराध रोक्न सुरक्षा योजना नै चाहिन्छ 

नवराज ढकाल, पूर्वडीआईजी, नेपाल प्रहरी

चिनियाँहरू व्यापार एवं सूचना प्रविधिको विकासमा जति नामुद छन्, अपराधको संसारमा पनि उनीहरूको पहुँच उत्तिकै छ । नेपालमा भैरहेका पछिल्ला अपराधमा चिनियाँहरूको संग्लनताको कुरा नयाँ देखिनुका पछाडि चीनसँगको नेपालको बढ्दो कनेक्टिभिटीको एउटा परिणाम हो । नेपाल हवाईमार्गमार्फत चीनका विभिन्न सहरसँग जोडिएको छ । नेपालभित्र व्यापार–व्यवसायका क्षेत्रमा पनि चिनियाँहरूको सहभागिता बढदो छ अनि नेपाल आउने चिनियाँ पयर्टकको संख्या पनि प्रत्येक वर्ष बढ्दो छ । यही अवसरको बीचमा अपराध र अपराधजन्य गतिविधि पनि फस्टाउँदो छ । 

राम्रा चिनियाँहरू अवसर खोज्दै नेपाल आए । यही मेसोमा अपराधको दुनियाँमा रहेका चिनियाँहरू भने अपराध गर्ने ठाउँ खोज्दै नेपाल प्रवेश गरे । संसारभर अवसर र विकृतिसँगसँगै जस्तो आउँछ । त्यही भएर अवसर, खुलापन र संसारसँग जोडिने अभ्याससँगै आउने अपराधहरू के–के हुन सक्छन्, त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि राज्यसँग पहिल्यै योजना हुनुपर्छ । प्रहरी र अनुसन्धान अधिकारीसँग यस विषयमा विशेष कार्ययोजना हुनुपर्छ । 

चीनभित्र भैरहेका वा चिनियाँ नागरिकले अन्य देशमा गरिरहेका अपराधका प्रकृति के–कस्ता छन् ? त्यसमा के–कस्तो प्रविधि प्रयोग भैरहेको छ भन्ने विषयमा नेपाल प्रहरीले जानकारी राख्नैपर्ने देखिन्छ । यस्तो जानकारीले नेपाल आउने चिनियाँहरूमाथि निगरानी गर्न वा उनीहरूका गतिविधिका सम्बन्धमा पहिल्यै सचेत हुन सहयोग मिल्छ । चिनियाँ प्रहरी तथा अनुसन्धान अधिकारीहरूसँग पनि नेपाल प्रहरीको संस्थागत तवरबाट ज्ञान र अनुभव आदान–प्रदान हुनैपर्ने देखिन्छ । यस्तो हुन सक्यो भने चिनियाँहरूले नेपालमा गर्ने अपराधका बारेमा चिनियाँ अधिकारीहरूले पनि सहयोग पुर्‍याउन सक्छन् अनि अपराध नियन्त्रणको पूर्वतयारीसमेत गर्न सकिन्छ । 

दक्षिणी छिमेकी भारतका प्रहरी तथा अनुसन्धान अधिकारीहरूसँग नेपाल प्रहरीको संस्थागत एवं व्यक्तिगत सम्बन्ध राम्रो छ । सीमा क्षेत्रमा हुने अपराध वा भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालमा अपराध गरेर भारतमा लुक्ने प्रवृत्ति रोक्न दुई देशका सुरक्षा अधिकारीले संस्थागत एवं व्यक्तिगत समन्वय गरिरहेका छन्, तर यस्तो अभ्यास चीनसँग भने हुन सकेको पाइँदैन । अब राज्यले चिनियाँ सुरक्षा अधिकारीहरूसँग पनि नेपाल प्रहरीको सम्बन्ध बनाउनेतर्फ पहल गर्नुपर्छ । 

नेपाल आउने चिनियाँहरूको पृष्ठभूमी जान्ने वा चीनको खोजी सूचीमा रहेकाहरूको विवरण लिने जस्ता सूचना आदान–प्रदान नगर्ने हो भने नेपालमा चिनियाँहरूको अपराध अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । चीनबाट नेपालीलाई प्राप्त अवसरसँगै भित्रिने विकृतिको नियन्त्रणका लागि गम्भीर गुरुयोजना सरकारले नै निर्माण गर्नुपर्छ र त्यसमा चीन सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ । 

 

प्रकाशित :भाद्र ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्