साप्ताहिक संवाददाता
बलिउडमा स्टार किड्सको चर्चा प्राय: भैरहन्छ । त्यस्तै चर्चा नेपालमा समेत प्रारम्भ भएको छ । नेपाली चलचित्रमा पनि अहिले दोस्रो पुस्ता हावी हुन थालेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, केकी अधिकारी, संयम पुरी, गौरव पहारी, निरिषा बस्नेत आदि अभिनेता–अभिनेत्रीहरू क्रमश: अभिनेता भुवन केसी, निर्देशक झरना थापा, निर्देशक सोभित बस्नेत, निर्देशक बद्री अधिकारी, निर्देशक नारायण पुरी, अभिनेता टीका पहारी तथा निर्देशक विश्व बस्नेतका छोरा–छोरीहरू हुन् ।
यो सूचीमा यसै वर्षदेखि अर्को एउटा नाम थपिएको छ– अंकित शर्मा । उनी हुन् निर्माता–निर्देशक अशोक शर्माका छोरा । अमेरिकाबाट चलचित्रसम्बन्धी उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएपछि अंकितले आफ्नै बुवाको चलचित्र ‘रातो टीका निधारमा’ मार्फत अभिनयमा पदार्पण गरेका छन् । चलचित्रको एउटा गीत तथा ट्रेलरबाट अंकितले आफूमा अभिनयको प्रशस्त सम्भावना रहेको प्रमाणित गरिसकेका छन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अनस्क्रिन रोमान्स गर्दै पहिलो पटक चलचित्रको एउटा गीतमार्फत सार्वजनिक हुँदा अंकितको आलोचना गर्नेहरू प्रशस्तै भए । यद्यपि असोज १० गते प्रदर्शनमा आउने चलचित्रको ट्रेलरसार्वजनिक भएपछि भने उनको कामको प्रशंसा गर्नेहरू बढे । निर्देशक शर्माको दाबी छ— ‘चलचित्र प्रदर्शनमा आएपछि मात्र अंकितको वास्तविक मूल्यांकन हुनेछ ।’