साप्ताहिक संवाददाता
एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन प्रारम्भ भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने यो कार्यक्रमको तेस्रो श्रृंखला नयाँ चुनौती, नयाँ फम्र्याट, नयाँ अनुहार तथा नयाँ शैली र आश्चर्यसहित आउने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले बताएका छन् ।
यो सिजन प्रतिस्पर्धी, निर्माण युनिट एवं निर्णायकहरूका लागिसमेत चुनौतीपूर्ण हुने उनको दाबी छ । ‘सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौं’ अधिकारी भन्छन्—
‘प्रतिस्पर्धीहरूमात्र होइन, यसपटक सेलिब्रेटी ग्याङ लिडरहरू नै चुनौतीपूर्ण खेलमा सहभागी हुनेछन् ।’ यसपटकको सिजनमा चारजना सेलिब्रेटी निर्णायकले चारवटा ग्याङको नेतृत्व गर्नेछन् ।
दिया मास्के, आशिष राना ‘लाहुरे’, हिमालय रोडिज पहिलो सिजनका विजेता समन श्रेष्ठ तथा अभिनेता अनुपविक्रम शाहीले ती ग्याङ (समूह) लाई लिड गर्नेछन् । यसपटक अघिल्ला सिजनका निर्णायक रेमनदास श्रेष्ठले कार्यक्रम होस्ट गर्नेछन् । यो कार्यक्रमको अडिसन धरान, चितवन, नेपालगञ्ज, पोखरा तथा काठमाडौंमा हुने बताइएको छ ।