साप्ताहिक संवाददाता
अनुपविक्रम शाही नायक र खलनायक दुवै भूमिकामा उत्तिकै जमेका छन् । मोडलिङबाट चलचित्रमा आएका अनुपले हालसम्म अभिनय गरेका चलचित्रमा नायक र खलनायकको भूमिका करिब–करिब बराबरजसो निर्वाह गरेका छन् । दर्शकहरूले भने उनलाई सकारात्मकभन्दा नकारात्मक भूमिकामै बढी रुचाएका छन् ।
त्यसैले होला, अचेल उनले नायकभन्दा खलनायकको भूमिकालाई नै प्राथमिकता दिन थालेका छन्, त्यो पनि राम्रो पारिश्रमिकसहित । यसबीच अघिल्लो साता चलचित्र ‘पासवर्ड’ को प्रिमियर शोमा अनुपले एउटा रोचक कुराको खुलासा गरे । कार्यक्रम सञ्चालिकाले उपस्थित कलाकारहरूसँग उनीहरूको इमेल तथा फेसबुकको पासवर्डका बारेमा जिज्ञासा राखिन् ।
अन्य कलाकारले पासवर्ड गोप्य राख्ने कुरा बताएर उम्किए भने अनुपले चाहिँ आफ्नो सामाजिक सञ्जाल सञ्चालन गर्न म्यानेजर नै राखेको जानकारी दिए । उनको कुरा सुनेर अधिकांश व्यक्ति छक्क परे । व्यस्तताका कारण कामलाई सहज बनाउन सेलिब्रेटीहरूले म्यानेजर राख्नु सामान्य हो, अनुपले भने फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउनकै लागि म्यानेजर राखेको कुरा सुनेपछि कसैले प्वाक्क भनी हाले—यस्ता पो सेलिब्रेटी !’